व्यास १० दुम्सीमा पीसीआर ल्याब सञ्चालनका लागि दिदीबहिनी समुहद्वारा आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

तनहुँको १० वटै स्थानीय तहको सहभागितमा सञ्चालन गर्न लागिको पीसीआर ल्याब सञ्चालनका लागि आर्थिक सहयोग जुट्न थालेको छ । व्यास-४ को सिर्जनशील दिदी बहिनी समुहले व्यास-१० दुम्सीमा सञ्चालन हुन लागेको पीसीआर परिक्षण ल्याबका लागि आर्थिक सहयोग गरेको हो ।
समुहले आइतवार व्यास नगरपालिकालाई ५० हजार ५ रुपैयाँ सहयोग गरेको छ । समुहकी उपाध्यक्ष कल्पना शर्मा न्यौपानेले सो रकम व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेकी हुन् । रकम हस्तान्तरण गर्दै उनले कोरोनाको लक्षण देखिएपछि गरिएको पीसीआर परिक्षणको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण फैलन सक्ने जोखिम बढेकाले यथाशीघ्र पीसीआर ल्याब सञ्चालनका लागि दबाब स्वरुप रकम सहयोग गरिएको बताइन् ।
रकम ग्रहण गर्दै नगरप्रमुख न्यौपानेले ल्याब सञ्चालनका लागि नगद सहयोग गर्नेमा दिदी बहिनी समुह पहिलो भएको र समुहले अन्तरदृष्टि पुर्याएर नगद सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
समुहका निवर्तमान अध्यक्ष नारायणी अधिकारी, पूर्व अध्यक्ष गौकुमारी न्यौपाने , सचिव सीता पण्डित, कोषाध्यक्ष मञ्जु न्यौपाने लगायतको उपस्थिति रहेको रकम हस्तान्तरण कार्यक्रमा नगर प्रमुख न्यौपानेले तनहुँका स्थानीय तहको लागत सहभागितामा व्यास-१० दुम्सीमा सञ्चालन गर्न लागेको पीसीआर परिक्षण ल्याबबाट तनहुँ लागयत छिमेकी जिल्लाका जनता समेत लाभान्वित हुने विश्वास व्यक्त गरे ।
नगर प्रमुख न्यौपानेले सञ्चालन गर्न लागिएको ल्यावबाट रोटरी क्लवले प्रदान गरेको पीसीआर मेसिनसंगै कम्तिमा पनि एक पटकमा एक सय जनाको पीसीआर परिक्षण गर्न सकिने बताए । एक हप्ता भित्र टेन्डर आव्हान गर्ने र करिब एक महिना भित्र ल्याब तयार गरी स्वीकृति परिपक्वताका साथ परिक्षणको काम थालिने नगरप्रमुख न्यौपानले बताए ।
ल्याब सञ्चालनका लागि देश विदेशमा रहेका व्यक्ति एवं संघ सस्थाहरुले समेत सहयोग गर्न इच्छा जाहेर गरेको नगरप्रमुख न्यौपानले बताए । देवघाट गाउँपालिका बाहेक तनहुँका नौवटा पालिकाको सहकार्यमा करिव एक करोडको लगानीमा व्यास-१० दुम्सीस्थित सहरी स्वास्थ्य केन्द्रमा पीसीआर ल्याब सञ्चालन गर्ने तयारी गरिएको छ ।










