पत्रकार काफ्लेलाई मातृशोक

दमौली नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं तनहुँ शाखाका पूर्वा अध्यक्ष प्रदीप काफ्लेलाई मातृशोक परेको छ । काफ्लेका आमा दीपकुमारी काफ्लेको ७६ वर्षको उमेरमा विहीबार राती पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।
व्यास नगरपालिका–३ दमौली निवासी काफ्लेको शनिबार दमौलीस्थित मादीसेती घाटमा दाहासंस्कार गर्ने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ ।
मुटु सम्बन्धी रोगको उपचाररत काफ्लेको हृदयघातका कारण बिहीबार राती करिब ११ः३० बजेको समयमा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको बताइएको छ । स्व. काफ्लेका तीन छोरा र तीन छोरी छन् ।
यस्तै, नेपाल पत्रकार महासंघले शुक्रबार एक शोकविज्ञप्ति जारी गर्दै स्वर्गीय काफ्लेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
महासंघका महासचितव रोसन पुरीले शोकविज्ञप्ति जारी गर्दै शोकको यस घडी महासंघ केन्द्रीय सदस्य प्रदीप काफ्लेसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् ।










