जेठ २८ गते एकसाथ सम्पूर्ण शैक्षिक संस्थाहरुको नतिजा प्रकाशन गर्न व्यास नगरपालिकाको निर्देशन
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा नीजि शैक्षिक संस्थाहरुको माध्यमिक तहसम्मको सम्पूर्ण परीक्षाहरु वैकल्पिक मूल्याङ्कन प्रणालीद्वारा जेठ २५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ। नगर कार्यपालिकाको सोमबार बसेको बैठकले वैकल्पिक मूल्याङ्कन प्रणाली जेठ २५ गतेसम्म सम्पन्न गरी जेठ २८ गते एक साथ नतिजा प्रकाशित गर्न निर्देशन दिएको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा शिक्षा तथा सामाजिक विकास शाखाबाट शैक्षिक संस्थाहरुलाई यस विषयमा जानकारी गराइएको र सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि कार्यलयको तर्फाट आवश्यक प्रक्रिया अगाडि बढाउन शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिएको शाखा अधिकृत एवं प्रवक्ता मेघनाट आचार्यले जानकारी गराएका छन् ।
यस्तै बैठकले नगरपालिकाका जनप्रतिनिधिहरुबाट व्यास १० स्थित दुम्सी बजारमा निर्माण प्रताव गरिएको प्रयोगशाला निर्माणका लागि मासिक रुपमा प्राप्त गर्ने एक महिना बराबरको सुविधा सहयोग स्वरुप उपलब्ध गरी सहयोग गर्न अनुरोध गरेको छ । बैठकले नगरपालिकाका सम्पूर्ण कर्मचारी, शिक्षक एवं अन्य सरकारी तथा गैर सरकारी संघ/संस्था, बैंक तथा वित्तीय संस्था लगायत उद्योगी व्यवसायीहरुलाई समेत प्रयोगशाला निर्माणमा सक्दो सहयोग गर्न अनुरोध गरिएको छ ।
कोरोना भाइरस संक्रमण दर दिनानुदिन बढ्दै गएको हुँदा सम्भावित संक्रमणको जोखिमलाई मध्यजनगर गरी नगरपालिकाको जेठ २ गतेको निर्णय अनुसार जेठ १० गतेसम्म नगरपालिका मूल कार्यालय र वडा कार्यालयद्वारा प्रवाह हुँदै आएका नियमित सरसफाई, वारुणयान्त्र, स्ववास्थ्य सेवाहरु बाहेकका अन्य सम्पूर्ण सेवाहरु आगामि जेठ १५ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको छ ।










