महर्षि वेदव्यासको मूर्ति प्राणप्रतिष्ठा कार्यक्रम हुने

दमौली : सनातन धर्मका प्रवर्तक तथा वेद, उपनिषद्, महाभारतका रचयिता महर्षि वेदव्यासको मूर्ति प्राणप्रतिष्ठा कार्यक्रम गरिने भएको छ । व्यास नगरपालिका–३ दमौलीस्थित व्यास वौद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान परिसरमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
प्रतिष्ठानले आगामि माघ २१ गने बुधबारका दिन महर्षि वेदव्यासको अवतरण भूमि, ब्रह्मर्षि पराशरको तपोभूमि तथा मत्स्यावतारको प्रकट भूमि मानिने व्यास क्षेत्रलाई सनातन धर्मको उद्गमस्थलका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य सद्गुरु खेमराज जय श्री हरिले जानकारी गराए ।

प्राणप्रतिष्ठा समारोहमा वेद, रुद्री, चण्डी पाठ, जप, ध्यान, हवनलगायत धार्मिक अनुष्ठान गरिने बताइएको छ । कार्यक्रममा देशभरका धर्मगुरु, विद्वान्, सनातन धर्मावलम्बी तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानका अनुसार कार्यक्रमले व्यास क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई थप उजागर गर्ने विश्वास लिइएको छ । आयोजकले धार्मिक आस्था राख्ने सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रण गरेको छ ।









