निषेधाज्ञाका कारण भक्तजन नआउँदा भोकाएका देवघाटका बाँदारलाई फलफूल
आशिक राना/देवघाट

कोरोना संक्रमण जोखिम बढ्दै गएपनि गरिएको निषेधाज्ञाका कारण अहिले धार्मिक क्षेत्रहरु पनि पूर्ण रुपमा बन्द गरिएका छन् । धार्मिक क्षेत्र बन्द हुँदा भक्तजनले दिएको फलफूल तथा अन्न खाएर बस्ने पशुपंक्षीहरु समेत अहिले भोकै बस्नुपर्ने अवस्था आएको छ । तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा पनि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण यतिबेला सुनसान छ ।
कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण देवघाटधाममा भक्तजनको उपस्थिति छैन । दैनिकजसो पुजाआजा र भक्तजनको भिडभाड हुने यस क्षेत्र अहिले सुनसान बन्न पुगेको छ । देवघाटधाममा पुजाआजा तथा दर्शनका लागि आउने भक्तजनले ल्याएको फलफूल तथा खाद्यन्न खाने यहाँका बाँदर निषेधाज्ञा यता कुनैपनि धार्मिक गतिविधि नहुँदा भोकै बस्नुपर्ने अवस्था आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए ।
‘देवघाटमा पछिल्लो समय आन्तरिक तथा बाहृय पर्यटकहरुको आगमनमा शुन्य भएपछि बाँदरको आहारबिहारमा पनि समस्य आएको छ’, उनले भने, ‘तत्काल क्षेत्र बिकास समितिको बैंठक बसि बाँदरको आहारबिहार ब्यवस्थापन के कसरी गर्ने भन्ने विषयमा छलफल गर्दै थियौ ।’
विभिन्न सामाजिक क्षेत्रमा सक्रिय ब्लड डोनर्स सोसाइटी नेपालले शनिबार देवघाट-५ स्थित देवघाटधामका करिव ३ सय भोका बाँदरहरुलाई फलफूल खुवाएका छ । मानिसलाई जस्तै बाँदर लगायत अन्य पशुपंछीको पनि यस संसारमा बाँच्न पाउने अधिकार उत्तिकै रहेको र मानवलाई जसरीनै पशुपंछीलाई पनि बाँच्नको लागि खानापानीको आवश्यकता पर्ने हुँदा बाँदरलाई फलफूल खुवाइएको सोसाइटीका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन अधिकारीले बताए।
‘निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी आफ्नो जीवन गुजारा गर्ने ब्यक्तिहरुलाई मात्र नभई पशुपंछीहरुलाई पनि आहारको व्यवस्थापन गर्न आवश्यक छ’, उनले भने, ‘यहि कुरालाई मनन गरी देवघाटको गलेश्वर चोक, देवघाट शिवालय मन्दिर आसपासमा रहेका भोका बाँदरहरुलाई फलफूल खुवाएका छौं ।’ यसै अभियान अन्तरगत तनहुँ, चितवन र नवलपुर जिल्लाका गरी करिब ७ सय बेबारिसे मानिसहरुलाई समेत खाना खुवाएको र आर्थिक अवस्था कमजोर भएका करिव ६० घरपरिवारलाई राहत उपलब्ध गराइएको सोसाइटीले जनाएको छ ।
यस्तै, कोरोना भाइरसको प्रभाव जनसमुदायमा मात्र नभई बाँदरमा पनि देखिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । उनले भने, ‘पहिला दैनिक मठ, मन्दिरहरुमा पुजा, पाठ गर्न आउने भक्तजनहरुले चढाउने फलफूल अन्य खानेकुरा खाएर आफ्नो पेटभर्ने बाँदर यतिबेला निषेधाज्ञाले गर्दा खानेकुराको अभाव हुँदै गएको छ ।’
यो विषम् परिस्थितिमा धार्मिक क्षेत्रका पशुपंछिहरुले आहार अभाव झेलिरहेको अवस्थालाई ख्याल गर्दै विभिन्न संघ, संस्थाहरुसंग समन्वय गरी बाँदर व्यबस्थापन गर्ने र बाँदर संरक्षणको लागि ‘बाँदर पार्क’ बनाउने बिषयमा प्रदेश र केन्द्र सरकारसंग आग्रह गरिएको अध्यक्ष थापाले बताए । चितवन र तनहुँको देवघाटतर्फगरी करिव ३ हजारको हारहारीमा बाँदर रहेको अनुमान गरिएको छ ।










