तनहुँ समाज हङकङद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ समाज हङकङले मृगौला पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । पछिल्लो समय विभिन्न रोगबाट पीडित भएकाहरुको उपचार्रार्थ सहयोग गर्दै आएको समाजले सोमबार दमौलीमा एक महिलालाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
समाजले मृगौला सम्बन्धी समस्याबाट पीडित बनेकी तनहुँको व्यास-८ मगर जौबारीकी २५ वर्षीया प्रिती गुरुङ रानालाई आर्थिक सहयोग गरेको हो । रानाको उपचार्रार्थ समाजले २ लाख ४६ हजार ६५० रुपैयाँ आर्थिक सहयोग गरेको समाजका निवर्तमान अध्यक्ष जंग बहादुर थापाले बताए ।
समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ, सचिव सुवित गुरुङ लगायतले पीडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै समाजका निवर्तमान अध्यक्ष थापाले बिगत देखिनै समाजले तनहुँको समाजिक बिकाससँगै विभिन्न रोगका पीडितलाई सहयोग गर्दै आएको बताए ।
दुःख पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ आफ्नो क्षमता अनुसार सहयोग संकलन अभियानमा जुट्ने गरेको समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले बताए । उनले भने, ‘सन् १९९९ देखि समाजले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरेका छौ ।’
उक्त रकम समाजका सचिव सुवित गुरुङको संयोजकत्वमा संकलन गरिएको थियो । रोजगारी लगायत विभिन्न शिलसिलामा हङकङ पुगेका तनहुँगे र गैर तनहुँगेसंग समन्वय गरी रकम संकलन गरिएको सचिव गुरुङले बताए । हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको उनले बताए ।
समाजले भुकम्पपछिको पूनःनिर्माण, बाढी पहिरो जस्ता विपदबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धी पूर्वाधार बिकास तथा प्रवर्द्धनमा समेत सहयोग गर्दै आएको छ ।










