देवघाट गाउँपालिका : कृषि, स्वास्थ्य, शिक्षा र आन्तरिक राजश्व वृद्धि प्राथमिकतामा

भञ्ज्याङ न्यूज

तनहुँको देवघाट गाउँपालिकाले आगामी आव २०७८/७९ का लागि कृषि, स्वास्थ्य, शिक्षा र आन्तरिक राजश्व वृद्धिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले र्सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षी, रोजगारी र गरिबी निवारण, शिक्षा, स्वास्थ्य तथा आन्तरिक राजश्व वृद्धि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकाले कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न एक गाउँ : एक उत्पादन तथा पकेट क्षेत्रको विकास गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए। कोभिड-१९ को संक्रमण र बन्दाबन्दीले आर्थिक मन्दीको अवस्थामा सुधार ल्याउन कृषि तथा पंशुपक्षीको क्षेत्रको उत्पादनलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष थापाले बताए ।

त्यस्तै, गाउँपालिकाको आन्तरिक आम्दानी निकै कम भएकाले राजश्व इकाइ गठन गरी बढि भन्दा बढि आन्तरिक राजाश्व संकलन गर्ने नीति पनि गाउँपालिकाले अगाडि ल्याएको छ । गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादनका राम्रो रहेको हुँदा सन्तलालाई व्यवस्थित रुपमा बजारीकरण गरी राजश्यको दायरामा ल्याउने नीति अवलम्बन गर्ने भएको छ ।

गाउँपालिकाले सामुदायिक वनको काठ, ढुंगागिट्टी, बलुवा, वातावरण शुल्क लगायतका क्षेत्रलाई करको दायरामा ल्याउने नीति अगाडि ल्याएको छ भने ५ लाख भन्दा बढि लागतका विकास निर्माणका कामहरु टेण्डर प्रक्रियाबाट अगाडि बढाउने समेत योजना बनाएको अध्यक्ष थापाले बताए । नीति तथा कार्यक्रममा कृषि जमीन बाँझो रहन नदिने विगत वर्षो नीतिलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ । ‘खाली र पर्ती जग्गाको लगत संकलन गरी जग्गा बाँझो राख्न नपाइने नीति अवलम्बन गरिनेछ’, अध्यक्ष थापाले भने, ‘त्यस्ता जग्गामा खेती गर्न चाहने कृषकलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्नेछ ।’कृषि उत्पादन वृद्धि गर्न उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिने बताउँदै थापाले सामूहिक खेतीलाई प्रोत्साहन दिइने प्रष्ट पारे । उनले एक वडाः एक नमूना गाउँ कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने भएको छ ।

चालु आर्थिक वर्षो बाख्रा पकेट क्षेत्र कार्यक्रमलाई प्रभावकारी बनाई आवश्यकता अनुसार थप बाख्रा पकेट क्षेत्र विस्तार तथा एक गाउँ एक अन्नबाली उत्पादनको नीति अवलम्बन गर्ने भएको छ । एकीकृत कृषि विकास कार्यक्रम अन्तर्गत सिंचाई, मल, बीउ, किटनाशक औषधि, प्रविधि, उत्पादित वस्तुको भण्डारण, प्रशोधन र बजारलाई सँगसँगै अगाडी बढाउन अध्ययन, अनुसन्धान, सहयोग र समन्वय गरिने उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाई रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी श्रमको सम्मान, देवघाट गाउँपालिकाको अभियान कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई आगामी आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने, रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य गरिने उल्लेख गरिएको छ ।

स्वास्थ्यतर्फकोभिड-१९ को विश्वव्यापी संक्रमणले सिर्जना गरेको जनस्वास्थ्यको चुनौतीलाई व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गरिने, कोभिड-१९ को महामारी तथा यसपछि पनि आउन सक्ने अन्य महामारी विरुद्ध लड्न स्वास्थ्य संस्थालाई सुदृढ बनाउने नीति गाउँपालिकाको छ ।अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि, स्वास्थ्य सामग्री र व्यक्तिगत सुरक्षा सामग्री सहित उपकरणको उचित व्यवस्थापन गर्नुका साथै विभिन्न सरोकारवाला निकायको सहयोग र समन्वयमा एम्बुलेन्स खरिद गर्ने नीति गाउँपालिकाले बनाएको अध्यक्ष थापाले जानकारी गराए ।

यस्तै, गाउँपालिका भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक स्थलको पहिचान गरी आवश्यक पूर्वाधारहरु तयारी गरी ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्रथामिकतामा राख्ने भएको छ । आगामि आर्थिक वर्षा लागि गाउँपालिकाले करिब ५० करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker