म्याग्दे खोलामा आएको बाढीले पाकेको चैते धान र रोपिसकेको धान खेती डुबायो

भञ्ज्याङ न्यूज

गत मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् । असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउँपालिका–६ का दीर्घबहादुर भण्डारीले बताउनुभयो । वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेको उहाँले जानकारी दिनुभयो ।

धान रोपेको चार दिनमै खेत बगरमा परिणत भएको छ । उहाँले भन्नुभयो, “यसपालिको बाढीले रोपेको धान पूरै सखाप भयो । फेरि रोपाइँ गर्नका लागि न बीउ छ, न त खेत नै ।” खेत रोप्दा बीउ र ज्याला गरी रु २० हजारभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो ।

उत्पादन हुने धान बेचेर गुजारा टार्दै आउनुभएका भण्डारीले यस वर्ष आफैँलाई पनि जीविकोपार्जन गर्न समस्या हुने गुनासो गर्नुभयो । खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमीन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ता पनि थपिएको छ । मङ्गलबार राति आएको बाढीले खेत बगर बनाएपछि यहाँका १०० बिघाभन्दा बढी खेत डुबानमा परेको छ ।

अर्का कृषक शिव भण्डारीले खेत डुबानमा परेर खेतमाथि खोला बगिरहेको बताउनुभयो । “खेत डुबानमा परेर खेतमा खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ”, उहाँले भन्नुभयो । खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उहाँको गुनासो छ । “अब धानको बीउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बीउ रोप्न मिल्दैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार रोपाइँमा करिब रु १० हजार खर्च भएको थियो । रोपेको एक साता नबित्दै उहाँको खेत बगर बनेको छ । “ट्र्याक्टरलाई मात्र रु सात हजार दिएको छु, रोपार, आली लगाउने खेताला खोज्दा खर्र्च भयो । आफ्नो दुःखको त कुरै छाडौँ”, उहाँले भन्नुभयो, “लगानी खेर गयो ।”

तटबन्धन तथा बाढी रोकथामको अभावमा बर्सेनि बाढीले दुःख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रूपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने किसानको माग छ ।

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार म्याग्दे, व्यासलगायत अन्य केही पालिकामा धान खेतमा क्षति पुगेको छ । मुचुल्कासहित क्षति विवरण सङ्कलन गर्न थालिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । “वडागत रूपमा क्षति सङ्कलन गर्ने र सङ्कलित विवरण गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेस गर्छौँ ।” तनहुँमा बुधबारसम्म ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker