घाँटी रेटेर हत्यापछि मृतकको टाउको बोकेर प्रहरी चौकी पुगे दुई जना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा शुक्रबार राति एक युवकको घाँटी रेटी हत्या गरिएको छ ।
हत्या आरोपमा संलग्न दुई युवक आफैं टाउको बोकेर प्रहरी चौकी पुगेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र बहादुर चन्दका अनुसार सोही वडाका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो ।
प्रहरीका अनुसार शुक्रबार राति करिब ११ बजे दुई समूहबीच मदिरा खाइरहेका बेला भएको विवाद चर्किएपछि घटना हत्यासम्म पुगेको हो । विवाद तीव्र बन्दै गएपछि १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले मिलेर बुढाको घाँटी रेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हत्यापछि दुवै युवक मृतकको टाउको हातमा बोकेर प्रतिखेत प्रहरी चौकी पुगेका थिए । उनीहरूले प्रहरीसमक्ष आफैंले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको टाउको हाल ईलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै छ । घटनाको प्रकृति गम्भीर रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक बुढाको घर सुर्खेत रहेको प्रहरीले बताएको छ । मृतकका आफन्त अहिले धनगढी आइरहेकाले घटनास्थलबाट शव नउठेको, आफन्त आएपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने एसपी चन्दले बताए ।