तनहुँमा एकै दिन ४० जना नयाँ संक्रमित थपिए

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा आइतबार मात्रै ४० जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय सार्वजनिक गरेको विवरणमा तनहुँका आठ वटा पालिकामा गरी ४० जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालयको विवरण अनुसार तनहुँको घिरिङमा १, शुक्लागण्डकीमा ६, व्यासमा १२, भानुमा ४, बन्दिपुरमा २, आँवुखैरेनीमा ८, ऋषिङमा १, भिमादमा ५ र ठेगाना नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आइतबार र्सार्वजनिक गरेको विवरणमा हालसम्म जिल्लामा ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५२३ जना निको भएर घर फर्किएका छन् भने ३३३ जना सक्रिय संक्रमित आइसोलेसनमा बस्दै आएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् । तनहुँका ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
जिल्लाका १० वटै पालिकामा भारत तथा अन्य मुलुकबाट आएका र कन्ट्याक्ट ट्रेसिङमा परेका एवं अग्रपंक्तिमा खटिएका गरी हालसम्म १० हजार ४९७ जनाको स्वाब नमुना संक्रलन पश्चात गरिएको पिसिआर परीक्षणमा ९ हजार ६१५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै, तनहुँका संक्रिय संक्रमित मध्ये १३६ जना होम आइसोलेसनमा बसेका छन् भने ७८ जना जिपि कोइराला राष्ट्रिय श्वाप्रश्वास उपचार केन्द्र शुक्लागण्डकी, बन्दिपुर अस्पताल, दमौली अस्पतालको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।










