व्यास गुफादेखि बन्दीपुरसम्म स्रष्टाको पदयात्रा

स्रष्टा पदयात्रा काठमाडौको आयोजनामा तनहुँको प्रसिद्ध व्यासगुफादेखि पर्यटकीय नगरी बन्दीपुरसम्म पदयात्रा सुरु भएको छ ।

विभिन्न जिल्लाका साहित्यकारको सहभागितामा धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल बन्दीपुरसम्म पदयात्रा सुरु भएको हो । व्यासगुफामा आज आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रामा सहभागी साहित्यकारलाई विदाई गर्दै साहित्यका माध्यमबाट व्यास क्षेत्रको प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो ।

व्यास, पराशर, छाब्दीवाराही, तनहुँसुर, गलेखामकोटको संरक्षण र उजार गर्ने अभियानमा नगरपालिका क्रियाशील भएर लागेको बताउँदै उहाँले भन्नुभयो, “सांस्कृतिक र साहित्यिक पक्षको संरक्षण गर्न प्राज्ञसभा गठनको प्रक्रिया अगाडि बढाएका छौ ।” व्यासका अध्येता काशीनाथ न्यौपानेले श्रीकृष्ण द्वैपायनको रुपमा २८ औं व्यासको जन्म दमौलीमा भएको प्रमाण रहेको भन्दै यस क्षेत्रको उचित प्रचारप्रसार हुन नसकेको बताउनुभयो । व्यासभूमि दमौलीको प्रचारप्रसारका लागि लागेपनि यसको विकास हुन नसकेकाले सबैको सामूहिक प्रयास आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

व्यासगुफा र बन्दीपुरको पर्यटन, संस्कृति, पुरातत्व महत्वको प्रचारप्रसार गर्ने उद्देश्य सहित पदयात्रा सुरु भएको हो । विसं २०७३ सालमा सुरु भएको स्रष्टा पदयात्राको तनहुँको श्रृङ्खला ५७ औं हो । स्रष्टा पदयात्राले काठमाडौबाट यो अभियान सुरु गरेको मन्दिरा मधुश्रीले जानकारी दिनुभयो । “नयाँ नयाँ ठाउँ पुगेर रचना सिर्जना गर्ने र त्यसलाई पुस्तकमार्फत् प्रचारप्रसार गर्ने उद्देश्यसहित स्रष्टा पदयात्रा सुरु गरेका हौ”, उहाँले भन्नुभयो ।

स्रष्टा पदयात्रामा ११ साहित्यकारको सहभागिता रहेको छ । स्रष्टा पदयात्रामा साहित्यकार शीतल गिरी, पत्रकार तथा लघुकथाकार डिल्लीराम सुवेदी, कवि बसन्त रिजाल, कवि तथा गजलकार खोलाघरे साहिलो, साहित्यकार नवराज रिजाल लगायतको सहभागिता रहेको छ ।

पदयात्रामा सहभागी हुने साहित्यकारको टोली आज बन्दीपुर पुग्नेछ । उक्त टोलीले आइतबार बन्दीपुरको अवलोकन गर्नेछ भने बन्दीपुरमा साहित्य गोष्ठि आयोजना गरिएको स्थानीय संयोजक डा. तुलसी प्रभास खनालले जानकारी दिनुभयो ।

नयाँ नयाँ ठाउँमा पुगेर त्यस ठाउँको अध्ययन अवलोकन गरी साहित्यका माध्यमबाट उजागर गर्नु स्रष्टा पदयात्राको मुख्य उद्देश्य रहेको संस्थाका संयोजक शीतल गिरीले जानकारी दिनुभयो । “कुनैपनि कुरा आफैले हेरी जाँच पहिचान गरेर लेखेको तथ्यपरक हुने हुँदा हामी महिनामा एक पटक पदयात्रा गर्दै आएका छौ, पदयात्रा गर्दा हामी प्रत्येक यात्रामा साहित्यिक कार्यक्रम पनि गर्छौ”, उहाँले भन्नुभयो, “यात्रा गरिएको स्थानको कला, संस्कृति अध्ययन गरी सिर्जनामा स्थान दिँदै आएका छौ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker