“कृषि र धार्मिक पर्यटन देवघाटको समृद्धिको आधार”

नारायण खड्का/तनहुँ

नेपालको प्रसिद्ध धार्मिक स्थल मध्येको एक देवघाट हो । जो परापूर्व कालदेखि आध्यात्मिक तपोभूमिको रुपमा रहँदै आएको छ । तनहुँ, चितवन र नवलपुर जिल्लाको मिलन विन्दुको रुपमा रहेको यो क्षेत्र विश्व मानचित्रमा २७ं४४’२७” उत्तरी अक्षांशदेखि २७ं५२’४८” उत्तरी अक्षांशसम्म र ८४ं१७’४०” पूर्वी देशान्तरदेखि ८४ं२८’२६” पूर्वी देशान्तरको बीच समुन्द्र सतहबाट १८४ मि. (वेणी संगम)देखि १६४१ मि. (गोगनघारीचुली) उचाईसम्म फैलिएको छ ।

गोसाइकुण्डदेखि आएकी स्वतगंगा (त्रिशूली) र दामोदर कुण्ड एवं मुक्तिनाथदेखि आएकी कृष्णागङ्गा (कालीगण्डकी)को संगमस्थल नै देवघाटधाम हो । देवघाट आध्यात्मिक तपोभूमिका अलावा शालीग्रामको भूमि, आश्रम र वैदिक गुरुकलु शिक्षा, प्राकृतिक मनोरम दृष्यावलोकन, जीवनको उत्तरार्ध अवस्थाको वसाइ, ऐतिहासिक एवं पुरातात्विकस्थल, स्थानीय मेला तथा पर्व र यहाँ सम्पन्न गरिने विभिन्न संस्कारहरुका कारण नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ ।

विश्वभरिका हिन्दू धर्मावलम्विहरुको आस्थाको केन्द्र देवघाट धर्म संस्कृति र प्रकृतिको संगमस्थल पनि हो । नेपालको मध्यभाग पूर्वपश्चिम राजमार्गको ५ कि.मि. उत्तर तर्फअवस्थित यस पवित्र पुण्यभूमिलाई दवेताहरुको जमघट हुने थलो भनरे धार्मिक ग्रन्थ तथा स्कन्दनपुराणहरुमा वर्णन गरेको पाईन्छ । त्यसैले यसको नाम देवघट्टबाट पछि आएर देवघाट हुन आएको मानिन्छ । यहाँ दान, यज्ञ, पूजा-आजा स्नानादि साथै पैतृक कार्यहरु गर्नाले कोटिगुणा बढी धर्म र फल प्राप्त हुने कुरा समेत धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ ।

देवघाट प्रकृति र संस्कृतिले सुशोभित गाउँपालिका हो । तनहुँ जिल्लाको कछार -तनहुँको कर्णाली भनेर चिनिने साविक वैदी, कोटा र छिपछिपे गाउँ विकास समिति राज्य पुनःसंरचना पश्चात देवघाट गाउँपालिमा समाहित भएको छ । गाउँपालिकाले हालसम्म सहजढंगबाट जिल्ला सदरमुकाम दमौलीसंग जोड्ने र सबै वडामा बाह्रैमास मोटर चल्ने पहँचु प्राप्त गर्न सकेको छैन । विद्यूत र व्यवस्थित पिउने पानीको समस्या अझै हट्न सकेको छैन । यो पालिकाको गाउँबस्ति ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास हुने प्रतिक्षामा छन् ।

पवित्र धार्मिक स्थल देवघाटधाम, साँस्कृतिक क्षेत्रको रुपमा परिचित घण्टाचुली, कोटवैदी र छिपछिपे, एतिहासिक एवं पुरातात्विकस्थल सिञ्चाङगढी, प्याउलीगढी, प्राकृतिक धरोहर कालीगण्डकी, त्रिशुली र छरछरे झरनाका साथै फलफूल तथा पशुपालनका लागि पहाडीभेग र तरकारी तथा अन्नवालीका लागि वेसीका समथर फाँट देवघाटबासीका आशाका किरणहरु हुन् । गाउँपालिकाले पहाडी क्षेत्रमा सुन्तला खेती र बेसीमा अन्नबालीको उत्पादन गरी समृद्धि हाँसिल गर्ने गरी कार्यक्रमहरु अगाडि बढाएको छ ।

तिल बहादुर थापा : अध्यक्ष

देवघाट गाउँपालिकाले कृषिलाई समृद्धिको आधार बनाएर अगाडि बढेको छ। दोश्रो कार्यकालका लागि निर्वाचित भएर आएको ११ महिनाको अवधिमा योजना तर्जुमा गरेर बजेट विनियोजन गर्ने काम गरिएको गाउँपालिकाका अध्यक्ष तीलबहादुर थापाले बताए ।

‘विशेष गरी कृषि, शिक्षा र स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिएका छौ । हामीले आधारभूत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि संघ सरकारले दैनिक १५ रुपैया दिवा खाजाका लागि दिएकोमा गाउँपालिकाले ५ रुपैयाँ थप गरी २० रुपैयाँ उपलब्ध गराउँदै आएका छौ’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाभित्र रहेका प्रत्येक विद्यालयलाई विद्यालय प्रोत्साहन कार्यक्रम, शिक्षक प्रोत्साहन कार्यक्रम, विद्यार्थी प्रोत्साहन कार्यक्रम ल्याएका छौ । त्यही अनुरुपमा मा.वि तहको विद्यालयलाई गाउँसभाबाट बजेट पारित गरेर शिक्षक प्रोत्साहन, विद्यार्थी प्रोत्साहन, विद्याथी भर्ना प्रोत्साहन जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरी शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिएका छौं।

स्वास्थ्य क्षेत्रलाई सवल र सहज रुपमा सेवा प्रवाह गर्न आवश्यक बजेट विनियोजन गरी स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने गरिएको अध्यक्ष थापाले बताए। उनले भने, ‘गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमले तनहुँमा देवघाट गाउँपालिका स्वास्थ्य क्षेत्रमा १ नम्बरमा परेको छ ।’

‘प्रत्येक वडामा कस्तो किसिमको कृषि उत्पादन वृद्धि गर्न सकिन्छ, यसमा जोड दिनको लागि कृषकहरुको समुह गठन गरी बीउ विजन, मल, औषधीहरुको विषयलाई लिएर बजेट छुट्याइएर अगाडी बढिरहेका छौ’, अध्यक्ष थापाले भने, ‘कृषि र पशुपालनका क्षेत्रलाई एकीकृत रुपमा समेटने गरी नीति, कार्यक्रम बनाएर बजेटको व्यवस्थापन गरिएको छ । वडा नं. १, २, ३ र ४ सुन्तला पकेट क्षेत्र भएकाले दीर्घकालिन रुपमा आम्दानीको मुख्य श्रोतका रुपमा विकास गर्ने योजनाका साथ कार्यक्रम ल्याइएको छ ।’

शिक्षा र कृषिलाई जोडेर ‘छोरी पढाउ, सुन्तला लगाउ’ नाराका साथ प्रत्येक वडाका टोलटोलमा महिला दिदीबहिनीलाई सहभागि गराइ उनीहरुको छोरी, बुहारीको उच्च शिक्षा अध्ययन प्रोत्साहन गर्ने कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष थापाले बताए । शिक्षा, स्वास्थ्यलाई समेटेर महिला सशक्तिकरणका लागि महिला स्वयंसेविकाहरुलाई छाता, झोला वितरण गरिएको छ । एसइइ, प्लासटुमा राम्रो अंक ल्याएर पास हुने छात्राहरु र प्राविधिक शिक्षा लिएका, १८ महिने र ३ वर्षे भेटेरिनरी अध्ययन गर्ने विद्यार्थीहरुको लागि प्रोत्साहन गर्ने उद्देश्यले छात्रावृत्ति प्रदान गर्दै आएको अध्यक्ष थापाले बताए । ‘अघिल्लो कार्यकालका जनप्रतिनिधिले गाउँपालिकामा धेरै सडकका ट्रयाकहरु खोलिसकेको हुँदा ती सडकको स्तरोन्नतीको कामलाई हामीले प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘देवघाटको तल्लो भेगमा धार्मिक पर्यटन र वडा नं. १, २, ३ र ४ को क्षेत्रहरुलाई सांस्कृतिक पर्यटन क्षेत्रका रुपमा अगाडी बढाउन योजना ल्याएका छौ ।’

‘आन्तरिक आम्दानीका क्षेत्र गाउँपालिकाको कम्जोर छ । केन्द्रको वित्तीय समानिकरण बजेट आएको भरमा योजना बनाएर चल्नुपर्ने स्थिति छ’, अध्यक्ष थापाले भने, ‘प्रदेश र संघ सरकारसंग बजेट माग्दा देवघाट तीन तिरबाट नदीले घेरिएको छ । नदीजन्य वस्तु उत्खनन गरेर बिक्री वितरण गर्‍यो भने केन्द्रमै बजेट पठाउन सक्ने क्षमता भएको गाउँपालिका बजेट माग्न आउँदा लाज लाग्नुपर्ने कुरा भन्छन्। तर अहिले कालिगण्डकीको तटमा आश्रमहरु भएकाले शाल्रि्राम लोप हुन्छ भनेर सर्वोच्चमा मुद्दा दिइएपछि घाट खुलाउन नसक्ने अवस्था भएकाले पहल गर्दैछौं । अन्य घाटहरुबाट बिक्री वितरण गरेतापनि गाउँपालिकाले उपयुक्त रुपमा राजस्व संकलन गर्न सकिरहेको छैन । आन्तरिक आम्दानी कम्जोर हुँदा जनताको माग र योजनाहरुलाई यथोचित सम्बोधन गर्न सकिएको छैन ।’

गाउँपालिका र जनतालाई विकास र समृद्धि तर्फअगाडि बढाउन मुख्य स्रोत भनेको कृषि र धार्मिक पर्यटन भएकाले भूबनोट, हावापानी सुहाउँदा खेती गरी उत्पादित उपजको बजारीकरण गर्ने योजनामा गाउँपालिका लागेको अध्यक्ष थापाले बताए। उनले भने, ‘गाउँपालिकालाई समृद्ध बनाउने माध्यम भनेको कृषि र धार्मिक पर्यटननै भएकाले हाम्रो प्राथमिकता पनि यसैमा केन्द्रित छ ।’

भुवन सिं गुरुङ : उपाध्यक्ष

शिक्षा बिना मानिस परिवर्तन हुन सक्दैनन्, मानिस स्वास्थ्य नभई विकास गर्न सकिदैन भन्ने सोचका साथ देवघाट गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पनि बढि प्राथमिकतामा राखेर काम गरेको उपाध्यक्ष भुवन सिं गुरुङ बताउँछन्। ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजना बनाई कार्यान्वयन गर्ने प्रक्रियामा छ’, उनले भने, ‘गाउँपालिकाका जनताका आकांक्षा धेरै छन तर बजेट थोरै हुँदा काम गर्न धेरै समस्या झेल्नुपरेको छ ।’

गाउँपालिकामा पहाडी भूभाग र चट्टान धेरै भएको कारण तराइ क्षेत्रमा ५ लाख बजेटको काम धेरै गर्न पनि सकिन्छ र धेरै देखिन्छ । तर पहाडमा चट्टानहरु धेरै भएकोले काट्न मुस्किल हुनुका साथै काम पनि नदेखिने अवस्था रहेको उपाध्यक्ष गुरुङ बताउँछन् । ‘जनताको आकांक्षा बाटोघाटो नै हो, तर गाउँपालिकाको प्राथमिकता कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई उत्पादनमुलक हुनुपर्छ भन्ने छ ।’

‘विकासका कामहरु हिजो भन्दा आज, आज भन्दा भोलि लगातार भइरहेका छन् । योजना अनुगमनको पाटोलाई पनि सोही अनुसार गर्ने गरिएको छ’, उनले भने, ‘गाउँपालिकाको न्यायीक समितिमा साध सधियार, जग्गा जमिन, घर झगडाका मुद्दाहरु बढि आउने गरेका र यी मुद्दालाई दुबै पक्ष बीच छलफल गरी मिलापत्र गर्राई न्यायनिरुपण गर्ने गरिएको छ ।’

यस्तै, विकास निर्माणका योजनाहरुको अनुगमनका क्रममा उपभोक्ताहरुलाई प्रक्रिया बुझाउन नसक्दा, उपभोक्ता समितिले काम गर्न नसक्दा समयमा सम्पन्न गर्न समस्या झेल्नुपरेको उनले बताए। ‘अहिले गाउँपालिकामा करिब ७० प्रतिशत कामहरु भैइसकेको र अबको जेठमा १०० प्रतिशत सम्पन्न गर्ने तयारीमा छौ’, उपाध्यक्ष गुरुङले भने, ‘विकास निर्माणको योजनामा ठेकेदारहरुले टेण्डर न्यून रकम हालेर ठेक्का आफ्नो कब्जामा लिने तर गुणस्तरीय काम नगर्ने र समयमा पनि नसक्ने प्रवृत्ती हावि हुँदै गएको छ । अनुगमनका क्रममा ठेकेदारहरुलाई खबर्रदारी गर्ने गरेका छौं । तोकिएको समयमा गुणस्तरीय काम हुनुपर्छ भन्ने हाम्रो जोड रहन्छ ।’

कोभिड-१९ संक्रमण जोखिमका कारण निर्माण कार्यहरुमा ढिलाई भएका छन् । संघीय सरकारको गृहमन्त्रालयबाट नै ठेक्का समय १ वर्ष थप स्वीकृत भएकाले गाउँपालिकाको अस्पताल र प्रशासकीय भवन निर्माण कार्य सुचारु भइरहेको छ। निर्माणाधिन अस्पतालको भवन र्सार्वजनिक जग्गामा बनाइएको हुँदा भुक्तानी समयमा नआएकाले समस्या हुने गरेको भएपनि अन्य काम तीव्र गतिमा भइरहेको उपाध्यक्ष गुरुङले बताए ।

रमेश सुवेदी : प्रमुख प्रशासकीय अधिकृत

देवघाट गाउँपालिकामा बजेट जम्मा ४८ करोडको हाराहारीमा आउँछ । त्यसमा आान्तरिक श्रोत नदीजन्य बाहेक बजेट न्यून रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी बताउँछन्। ‘ग्रामीण क्षेत्रको गाउँपालिका भएका कारण सम्पत्ति कर निकै कम उठ्छ ।

नीतिगत रुपमा शिक्षा, स्वास्थ्यलाई बढि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौ’, उनले भने, ‘बजेटको हिसाबले विनियोजन गर्दा गाउँपालिकाको प्रशासकीय भवन र धार्मिक मोटरमार्ग भएको हुनाले मोटरमार्ग पिचको लागि भौतिक पूर्वाधारमा बढी बजेट छुट्याइएको छ । अनुमानित बजेट आउन नसक्दा आन्तरिक राजस्वमा पनि कम भएकोले भुक्तानीमा समस्या पर्ने गरेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker