तनहुँ अदालत : पूर्वाधार अभावमा कार्यसम्पादनमा समस्या, दुई वर्ष नाघेका मुद्दा सून्य, ६७२ जोडीको सम्बन्ध विच्छेद

दमौली । भौतिक पूर्वाधार अभावमा दैनिक कार्यसम्पादनमा समस्या आएको तनहुँ जिल्ला अदालतले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरिएको कार्यप्रगति सार्वजनिक गर्न विहीबार अदालतले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला न्यायाधीश कोमलराज विष्टले आवश्यक भौतिक पूर्वाधार अभावमा दैनिक कार्यसम्पादनमा समस्या झेल्नुपरेको बताएका छन् ।
‘अदालतमा गत वर्षदेखि तीन न्यायाधीश दरबन्दी कायम भएको र मुद्दाको चाप पनि बढ्दै गएको छ । चालु भवन साघुँरो भएकाले थप भवन निर्माण गर्नुपर्ने, मुद्दा शाखा, अभिलेख शाखा, मेलमिलाप कक्ष र पुस्तकालय कक्ष आदीको व्यवस्थापन गर्न असहज भएको छ’, उनले भने, ‘कर्मचारीहरूलाई काम गर्ने मनोबल उच्च राख्न तथा उत्प्रेरणा दिनसमेत सकिएको छैन, कर्मचारीलाई दिईने तालिम शिर्षकमा पर्याप्त रकम निकासा समेत हुन सकेको छैन ।’
आदालतमा भौतिक पूर्वाधारमा कमी, फर्निचर, कम्प्युटर, फोटोकपी लगायतका सामानहरुको कमी, कर्मचारीमा दक्षताको कमी, अपर्याप्त बजेट, कार्यालय संचालनको लागि न्युनतम रुपमा पनि पुग्ने बजेट नभएको, डिसियमको प्रक्रियागत जटिलता, बालबालिकाका मुद्दा १ नं. इजलासमा मात्र केन्द्रित हुने व्यवस्था, बाल इजलास नहुनु जस्ता समस्या रहेको जिल्ला न्यायाधीश विष्टले बताए ।
वि.सं. २०६० साल पूर्व अदालतले प्रयोग गरेको पुरानो अदालत भवन हाल जिल्ला प्रशासन कार्यालयले प्रयोग गरेकोमा सो उपलब्ध गराउन न्याय क्षेत्र समन्वय समितिको बैठकबाट माग गर्ने निर्णय भएकोमा जिल्ला समन्वय समितिको निर्णय बमोजिम सो भवन खाली गरी अदालतले प्रयोग गर्ने भनी पत्र प्राप्त भएको न्यायाधीश विष्टले जानकारी गराए ।
‘अदालतको भवन तथा कोठा अपुग भएकाले थप भवन निर्माण गर्ने वा तला थप्ने तर्फ निर्णय भइ आवश्यक रकम गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘विभिन्न कार्यक्रममा मूलत मेलामिलाप, परिवहन खर्च र बाल मनोविज्ञलाई दिने पारिश्रमिक जस्ता शिर्षकहरूमा रकम कटौती भएकाले सम्बन्धित व्यक्तिहरूलाई काममा लगाउन नसकिएको हुँदा त्यस्ता शिर्षकहरूमा पूर्ववत रकम निकासा हुनुपर्ने, समयमा कर्मचारीहरूको सरूवा बढुवा हुनुपर्ने, कम्प्युटर, प्रिन्टर, स्क्यानर, फर्निचर खरिद शिर्षकमा रकम निकासा हुन सकेको छैन ।’
यस्तै, जिल्लामा ६७२ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । जिल्ला अदालत तनहुँले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०८०/०८१ मा ६७२ जोडीको सम्बन्ध विच्छेद भएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार केशवप्रसाद पौडेलका अनुसार ६१३ थान मुद्दा दर्ता भएका र अघिल्लो वर्षको १७१ गरी ७८४ थान सम्बन्ध विच्छेदका मुद्द अदालतमा लगत रहेकामा ६७२ थान फछ्र्यौट भई ११२ थान मुद्दा बाँकी रहेका छन् ।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा सम्बन्ध विच्छेदका ९२७ थान मुद्दा लगत रहेकामा ७५६ थान मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार पौडेलले जानकारी गराए । तनहुँमा सम्बन्ध विच्छेदका मुद्दा बढी रहेको देखाइएको छ । ‘आर्थिक वर्ष २०८०/०८१ मा जिम्मेवारी सरी आएका मुद्दा संख्या एक हजार १०१ र नयाँ दर्ता मुद्दा एक हजार ६६५ गरी २ हजार ७६६ थान मुद्दा दर्ता भएका थिए। जसमध्ये सबै भन्दा बढि सम्बन्ध विच्छेदको ७८४ थान मुद्दा छन्’, श्रेस्तेदार पौडेलले भने, ‘यसमध्ये २ हजार २८ थान मुद्दा फछर्यौट भएका छन् भने ७३८ थान मुद्दा बाँकी छन् ।’
जिल्ला अदालतमा ६ महिनाभित्रको ५०९, ६ महिनादेखि एक वर्षभित्रको १३५ र एक वर्षदेखि १८ महिनाभिको ८९ र १८ महिनादेखि २ वर्षभित्रको गरी ७३८ थान मुद्दा रहेका छन् । अदालतले सरल, सामान्य र विशेष गरी ३ मार्गसमूहमा फरक मुद्दा व्यवस्थापन पद्धति कार्यन्वयन गरेको छ । अदालतमा हाल दुई वर्ष भन्दा बढी समयका मुद्दा नरहेको बताइएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा जिम्मेवारी सरी आएका मुद्दा संख्या एक हजार १३५ र नयाँ दर्ता मुद्दा संख्या एक हजार ७८९ गरी २ हजार ९२४ थान मुद्दा दर्ता थिए । जसमध्ये एक हजार ८२३ थान मुद्दा फछ्र्यौट भएका छन् । गत दुई वर्षको तत्थ्याङ्क तुलना गर्दा आर्थिक वर्ष २०८०/०८१ मा १५८ थान मुद्दा घटेर आएको छ ।
गत आर्थिक वर्षमा बालबालिका प्रतिवादी भएका मुद्दा ६५ थान छन् । जसमध्ये ६१ थान फछर्यौट र १४ थान मुद्दा बाूकी छन् । उनले भने, ‘बालबालिका प्रतिवादी भएका मुद्दामध्ये पुर्पक्षको सिलसिलामा बालसुधार गृहमा रहेका बालबालिकाको संख्या ६ जना छ भने पुर्पक्षको सिलसिलामा परिवारका सदस्यको जिम्मा लगाएको बालबालिकाको संख्या १६ जना रहेको छ ।’
अदालतबाट मेलमिलाप केन्द्रमा ५९५ थान मुद्दा पठाइएकोमा ७५ मुद्दा सफल र ४८५ थान मुद्दा असफल भएका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अपिल बोहोराले प्रहरी कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा ६९३ मुद्दा चलाएको बताए । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ४५२ वटा मुद्दा दर्ता भई काम कार्य गरिएको बताए ।
जिल्ला अदालतमा सम्बन्ध विच्छेद, अंश, चेक अनादर, लेनदेन, लागूऔषद, चोरी/डाँका/नकवजनी, जालसाजी, बैकिङ कसुर, जबरजस्ती करणी, सवारी ज्यान/अंगभंग, घरेलु हिंसा लगायतका मुद्दा आउने गरेको जिल्ला न्यायाधीश कोमलराज बिष्टले बताए । उनले भने, ‘केही वर्ष यता तनहुँ अदालतमा २ वर्ष नाघेका मुद्दाहरु छैनन् ।’
बाल इजलास नभएको, बालबालिका मुद्दामा १ नं. इजलासमा मात्र केन्द्रित हुने व्यवस्था, डिसियमको प्रक्रियागत जटिलता, अपर्याप्त बजेट, कर्मचारी दक्षताको कमी, भौतिक पूर्वाधारमा कमी, चालु भवन साघुँरो भएको जस्ता समस्यले कार्यसम्पादनमा समस्या आउने गरेको जिल्ला न्यायाधीश विष्टले बताए ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खेमराज पाठक, वरिष्ठ अधिवक्ता कमलामोहन वग्ले, वार इकाईका अध्यक्ष डम्मरदेव हड्खले लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।










