बन्दिपुरमा पहिराबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको राहत
भञ्ज्याङ न्यूज

अविरल वर्षासँगै आएको पहिराबाट मृत्यु भएका तनहुँको बन्दिपुर गाउँपालिका-३ तामुङका पीडित परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको छ । यही असार १७ गते आएको पहिरामा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फाट राहत वितरण गरिएको हो ।
पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । पीडितको घरमै पुगी मंगलबार गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेका हुन्।
सो क्रममा पूर्वमन्त्री चुमानले मृतक थापाका आफन्त सूर्यबहादुर थापामगर र मृतक सर्किनीका आफन्त जुनबहादुर बस्याललाई राहत रकम हस्तान्तरण गर्दै प्राकृतिक विपत्तिलाई रोक्न नसकिने भएपनि पूर्वतयारी अपनाउनुपर्ने बताए ।
मृतकका परिवारलाई संघीय सरकारका तर्फबाट पनि केही दिनभित्रै दुइ लाख रुपैयाँ सहयोग प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए। पहिराबाट जिल्लामा दुइ जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् ।










