तनहुँमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरा स्थित पृथ्वीराजमार्ग सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
तनहुँ प्रहरीका अनुसार आइतबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला ललितपुर स्थायी ठेगाना भई हाल बन्दीपुर गाउँपालिका–४ बस्दै आएका १८ वर्षीय आदर्श लिम्बु टाउको र मुखमा गम्भीर चोट लागेर सख्त घाइते भएका छन्। त्यस्तै मोटरसाइकलको पछाडि सवार जिल्ला भक्तपुर निवासी १८ वर्षीय मिनिराज प्रसाद भण्डारीको अनुहारमा गम्भीर चोट लागेको थियो।
दुवै घाइतेलाई लक्ष्मी सिटी अस्पताल डुम्रेमा प्राथमिक उपचार पश्चात चितवन मेडिकल कलेज चितवन रिफर गरिएको थियो। अवस्था गम्भीर भएकाले पुरानो मेडिकल कलेज भरतपुरबाट नयाँ सियमसि चितवन रिफर गरिएको थियो।
उपचारकै क्रममा मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका–४ निवासी १८ वर्षीय मिनिराज प्रसाद भण्डारीलाई आज बिहान ६:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। चालक आदर्श लिम्बुको अवस्था भने गम्भीर रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










