तनहुँमा सामी कार्यक्रम प्रभावकारी बन्दै, वैदिशक रोजगारमा समस्या परेका १९२ जनाले पाए क्षतिपूर्ति

भञ्ज्याङन्यूज

बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले तनहुँमा प्रभावकारी काम गर्दै गएको छ । सामीले वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका १९२ जनाले क्षतिपूर्तिस्वरुप दुइ करोड ३१ लाखभन्दा बढी राहत वितरण गरेको छ । सामीको पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले बताइन् । उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले रु ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले रु १ लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले रु ११ लाख प्राप्त गरेका छन् ।

यस्तै, म्याग्दे गाउँपालिकाका २२ जनाले रु ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले रु ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले रु दुइ लाख, देवघाट गाउँपालिकाका ११ जनाले रु २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले रु ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले रु दुइ लाख ५० हजार क्षतिपूर्ति पाएका रानाले जानकारी गराइन् ।

तनहुँ बाहेक अन्य ठाउँका सात जनाले रु २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा ११८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लङ्घन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए ।

‘आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो’, उनले भनिन्, ‘सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज भएको र कार्यक्रमको प्रभावकारिता समेत बढ्दै गएको छ ।’

यस्तै, कार्यक्रममार्फत हालसम्म ६ हजार ६९१ जनालाई परामर्श प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रूपमा जानका लागि र्सवसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ । रानाका अनुसार व्यासका एक हजार ४५६, शुक्लागण्डकीका एक हजार ७३ तथा भानु नगरपालिकाका एक हजार १४, म्याग्देका ५१७, भिमादका ६७१, बन्दीपुरका ३९९, देवघाटका ३०४, घिरिङका ३८३, ऋषिङका ५५४ र आँबुखैरेनी गाउँपालिकाका ३२० जनालाई परामर्श सेवा दिइएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मंसिर १ गतेदेखि जिल्लाका चार र गत वर्षेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास, भानु र शुक्लागण्डकी नगरपालिकाका साथै म्याग्दे, भिमाद, देवघाट र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएकामा यो प्रभावकारी बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनले भने, ‘सामी कार्यक्रमलाई अबको आर्थिक वर्षेखि स्थानीय तहले सञ्चालन गर्नुपर्ने अवस्था आउन लागेको छ। यो कार्यक्रम निकै प्रभावकारी बनेकाले त्यसका लागि हामी तयार छौं ।’

गण्डकी प्रदेशका जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने तनहुँ उच्च जिल्ला रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन यो कार्यक्रमले सहयोग पुगेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताए । उनका अनुसार चालु आव तनहुँबाट श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १३ हजार ९५१ छ । त्यसमध्ये महिलाको संख्या एक हजार ३९० छ ।

‘गरिबी र वैदेशिक रोजगारमा आकर्षाले विदेश जानेको संख्या बढ्दो छ । यसलाई रोक्न सक्ने अवस्था छैन तर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सबै ज्ञान लिएर मात्रै जानुपर्छ । नत्रभने पछि समस्या आउन सक्छ’, उनले भने, ‘मलेसिया लगायतका खाडी मुलुकमा नेपालीहरुको आकर्षण बढ्दै गएको अवस्थामा पछिल्ला समय युरोपियन देशहरुमा जानेको संख्या पनि उत्तिकै बढ्दै गएको छ । दैनिक दुइ हजार पाँच सय जनशक्ति बैदेशिक रोजगारीमा जाने र दैनिक ३ देखि ५ वटा शव नेपाल भित्रिने गरेको छ ।’

कार्यक्रममा व्यासका वरिष्ठ प्रशासकीय अधिकृत एवं सामी कार्यक्रमका फोकल पर्सन राजेन्द्र कार्कीले वैदेशिक रोजगारीमा जान चाहेका, वैदेशिक रोजगारीमा गएका व्यक्ति र रोजगारीमा गएका व्यक्तिका परिवारको सुरक्षाका लागि सामी कार्यक्रम अपरिहार्य बन्दै गएको बताए ।

उनले बैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई मृगौला, क्यान्सर, मुटु, नसा र मानसिक सम्बन्धि पाँच किसिमका दर्ीघ रोग उपचारमा पचास हजारसम्म खर्च दिने व्यवस्था रहेको जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker