अदुवा र बेसारखेतीतर्फ घिरिङका किसान आकर्षित

कृष्ण न्यौपाने/दमौली

तनहुँको घिरिङ गाउँपालिका-२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गरिरहनुभएको छ । शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गर्नुभएका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाउनुभएको छ। घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाउनुभएको हो । “अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ”, उहाँले भन्नुभयो, “तर स्थानीय सरकारले व्यावसायिक रुपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।” हाल उहाँले चार रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहनुभएको छ।

घिरिङ गाउँपालिका-१ अत्रौलीका रोमनाथ पोख्रेलले पनि दुइ रोपनी क्षेत्रफलमा बेसारखेती गरिरहनुभएको छ । “रोपनी भन्दामाथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ,” उहाँले भन्नुभयो, “अनुदानले हामी जस्ता किसानलाई राहत मिलेको छ ।”

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाएपछि किसान यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालिकाभित्रका नौ किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । निर्वाहुमखी खेती गर्ने किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई अदुवा र बेसारमा आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिनुभयो । “यो शुरुवात हो, प्रत्येक वर्ष किसानलाई उत्पादनका आधारमा अनुदान दिन्छौ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसारप्रति रोपनी रु पाँच हजारका दरले किसानलाई अनुदान वितरण गरिएको छ । अदुवाखेती गर्ने सात किसानलाई रु एक लाख ४० हजार र बेसारखेती गर्ने दुइ किसानलाई रु २० हजार अनुदान दिइएको छ । अदुवाखेती गर्ने घिरिङ गाउँपालिका-२ चिन्ने खोलाका शेरबहादुर थापाले चार रोपनीबापतको रु २० हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका-१ अत्रौलीका यदुराज पोख्रेलले रु दश हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका-१ अत्रौलीका रोमनाथ पोख्रेलले रु दश हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका-३ नेवापानीका लोकबहादुर गुरुङले रु ३० हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका-५ किटियाका मीनबहादुर थापाले रु २५ हजार, अदुवाखेती गर्ने घिरिङ-५ मान्फका टोलबहादुर थापा, ओमबहादुर थापा, सोमबहादुर थापा र शेरबहादुर थापाले रु ६५ हजार प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था आगामी आर्थिक वर्षमा पनि मिलाएको अध्यक्ष थापाले बताउनुभयो । “यसले गर्दा किसान यसको खेतीतर्फ आकर्षित हुने विश्वास लिएका छौ,” उहाँले भन्नुभयो । गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाई समेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाई पनि प्रति रोपनी रु पाँच हजारका दरले अनुदान रकम वितरण गरेको छ । गाउँपालिका अनुसार १८ जना किसानलाई उक्त अनुदान रकम वितरण गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker