म्याग्दे गाउँपालिकामा स्वास्थ्य सेवा : आधारभूत अस्पतालदेखि घरदैलो कार्यक्रमसम्म
घुम्ती स्वास्थ्य सेवामार्फत पहुँच विस्तार गर्दै आएका छौं : अध्यक्ष श्रेष्ठ

श्रीप्रसाद श्रेष्ठअध्यक्ष : म्याग्दे गाउँपालिका
तनहुँको म्याग्दे गाउँपालिकाले स्वास्थ्य सेवालाई सहज र सरलढंगबाट उपलब्ध गराउने उद्देश्यले आधारभूत अस्पतालदेखि घरदैलोसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले एकीकृत घुम्ती सेवा कार्यक्रममार्फत नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास तीव्र बनाएको बताएका छन् ।
उनका अनुसार पछिल्लो समय गाउँपालिकाले विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै उपचार सेवाको पहुँच विस्तार गरेको छ । बाथ रोगका बिरामीका लागि १२ दिनसम्म शिविर सञ्चालन गरिएको जानकारी दिंदै उनले आँखासम्बन्धी दुई पटक शिविर आयोजना गरी हालसम्म करिब ७९ जना बिरामीलाई अस्पतालसम्म लगेर थप उपचारको व्यवस्था मिलाइएको जनाए । उनले भने, ‘पहिले शिविरमार्फत सेवा दिइन्थ्यो, अहिले अस्पतालमै उपचार सेवा सुरु गरेका छौ।’
गाउँपालिकाले दन्त उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत दाँत जाँच, एक्स–रे लगायतका सेवा उपलब्ध छन् । त्यस्तै, मिर्गौला रोगको निःशुल्क परीक्षण तथा पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष श्रेष्ठले बताए।

स्वास्थ्य सेवा विस्तारका बाबजुद नागरिकमा चेतनास्तर अझै कमजोर रहेको उनले उनले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘हामीले शिविरको सूचना सामाजिक सञ्जालमा राख्छौँ, तर धेरैले नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति देखिन्छ। सहज रुपमा घरदैलोमै पाएको सेवा उपभोग गर्नुभन्दा पनि नकरात्मक टिकाटिप्पणी गर्ने कार्यपनि बढ्दै जाँदा सेवा प्रभावकारी हुन सकेको छैन ।’ उनका अनुसार सेवा लिने नागरिक भने सन्तुष्ट भएर फर्किने गरेका छन्, तर बाहिर नकारात्मक धारणा फैलिने समस्या रहेको छ ।
अध्यक्ष श्रेष्ठले प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त भए पनि पर्याप्त नभएको बताए । ‘सहयोग नपाएको होइन, तर जति आएको छ त्यो पुग्दो छैन’ उनले भने, ‘म्याग्दे गाउँपालिकाले घुम्ती स्वास्थ्य सेवा, शिविर तथा अस्पतालमार्फत उपचार सेवा विस्तार गरिरहेको भए पनि जनचेतना अभाव र सीमित स्रोतसाधन मुख्य चुनौतीका रूपमा देखिएका छन् । स्थानीय तहको पहलसँगै उच्च तहको थप सहयोग आवश्यक रहेको छ ।’

तिलक घिमिरे : स्वास्थ्य शाखा प्रमुख
म्याग्दे गाउँपालिकामा पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा विस्तार, जनचेतना कार्यक्रम र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेका अनुसार सीमित स्रोतसाधनका बाबजुद आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाइएको छ ।२१ हजार १३२ जनसंख्या रहेको गाउँपालिकामा हाल २ वटा स्वास्थ्य चौकी, १ आधारभूत अस्पताल, ४ आधारभूत स्वास्थ्य सेवा केन्द्र र ३ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा छन् । तीमध्ये ३ स्वास्थ्य संस्थाबाट २४ घण्टा सेवा उपलब्ध छ भने प्रसूति सेवा पनि ३ स्थानबाट प्रदान भइरहेको छ । थर्पु आधारभूत अस्पतालमा प्रयोगशाला, एक्स–रे तथा भिडियो एक्स–रे सेवा सञ्चालनमा रहेको र २ वटा एम्बुलेन्समार्फत सहज पहुँच सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी गराए ।
चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा कुल बजेटको १५ प्रतिशत अर्थात् संघीय सशर्त अनुदानतर्फ ३ करोड २८ लाख ६४ हजार रुपैयाँ र समानीकरणतर्फ १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बहुआयामिक कार्यक्रम अघि सारेको बताउँदै उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म पु¥याउने, १० शय्याको थर्पु आधारभूत अस्पताल सञ्चालनलाई प्रभावकारी बनाउने, तथा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको छ।’ ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने, प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन, तथा विपन्न नागरिकलाई मुटु, क्यान्सर, मिर्गौला लगायतका रोगमा सहुलियत सुविधा उपलब्ध गराउने नीति लागू गरिएको प्रमुख घिमिरेले जानकारी गराए ।

गुणस्तरीय मातृत्व सेवा सुनिश्चित गर्न थर्पु अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत प्रति व्यक्ति ५ हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराइँदै आएको छ । संस्थागत सुत्केरी दर ८७ प्रतिशत पुगेको छ भने खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको र प्रत्येक महिनाको ६ देखि ८ गतेसम्म १७ खोप क्लिनिकमार्फत सेवा दिइँदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै, गाउँपालिकामा मधुमेह र उच्च रक्तचापजस्ता नसर्ने रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको छ । बिरामीलाई नियमित फलोअपमा राख्ने, समुदायस्तरमा स्क्रिनिङ गर्ने तथा जनचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको छ । गत आर्थिक वर्षमा १ हजार २३१ जनामा समुदायस्तरमै स्क्रिनिङ गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै मनोसामाजिक परामर्श सेवा, विशेषज्ञ उपचार तथा समुदायस्तरीय सचेतना कार्यक्रम सञ्चालनमा छन्। साथै आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा सेवा पनि विस्तार गरिएको छ । दरबन्दी अनुसार १९ जना स्वास्थ्यकर्मी रहेकोमा हाल स्थायी १९ र करार २३ गरी ४२ जना कार्यरत छन् । २ जना मेडिकल अधिकृत कार्यरत भए पनि अस्पतालस्तरको सेवा विस्तारका लागि अझ जनशक्ति अपुग रहेको बताइएको छ ।

थर्पु आधारभूत अस्पतालबाट २४ घण्टा सेवा सञ्चालन हुनु तथा स्वास्थ्य सूचकमा सुधार मुख्य उपलब्धि मानिएको छ । तर अस्पताल सञ्चालन तथा व्यवस्थापन, पूर्ण संस्थागत सुत्केरी वडा घोषणा, तथा जनशक्ति व्यवस्थापन चुनौतीका रूपमा रहेका छन् । गाउँपालिकाले संघ र प्रदेश सरकारसँग कार्यक्रम बजेट समयमै उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई तालिम दिन, माइक्रोस्कोपिक केन्द्र स्थापना गर्न तथा क्षयरोग स्क्रिनिङ विस्तार गर्न आग्रह गरेको छ ।
सेवाग्राही सन्तुष्टि मापन सार्वजनिक सुनुवाइ तथा प्रत्यक्ष प्रतिक्रिया मार्फत गरिँदै आएको गाउँपालिकाले गुनासो व्यवस्थापनका लागि स्वास्थ्य संस्थामा गुनासो पेटिका राखी नियमित समीक्षा गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले आगामी वर्षहरूमा पूर्ण खोप सुनिश्चितता, मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने, सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने, स्वास्थ्य सेवा डिजिटलीकरण गर्ने तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाइएको छ ।

म्याग्दे गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रयास गरे पनि अस्पताल व्यवस्थापन, जनशक्ति अभाव र स्रोतसाधनको सीमितताले चुनौती थपेको छ । प्रभावकारी समन्वय र पर्याप्त लगानी भए स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
(भञ्ज्याङ प्रकाशनको ४५औं वर्ष प्रवेशका अवसरमा २०८३ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशन भएको)










