सुदीप र अविनाशले विद्यार्थीलाई उपलब्ध गराए न्यानो कपडा

दमौली : तनहुँको व्यास नगरपालिकाका दुई वटा विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ। व्यास–५ स्थित सिन्धु प्राथमिक विद्यालयका अपाङ्गता भएका विद्यार्थीलाई मंगलबार न्यानो कपडा वितरण गरिएको हो । युवा अभियान्ता सुदीप गफ्फारले विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् ।
‘न्यानो अभियान’ अन्तर्गत उनले विद्यालयमा आयोजित कार्यक्रममा ती विद्यार्थीलाई सहयोग गरेका हुन् । चिसोमा बालबालिकालाई सहज होस् भनेर यो अभियान चलाएको उनले बताए । विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले गफ्फारको अभियानले समाजमा सकारात्मक सन्देश दिएको बताए ।
यस्तै, व्यास–१२ छाब्दीका युवा अविनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालन गरिएको स्कुल स्वीटर अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई स्विटर र टोपी वितरण गरिएको छ ।

अभियानको क्रममा छाब्दी आधारभूत विद्यालयमा ११ थान स्विटर र ९ थान टोपी तथा श्री मच्छे कन्या निमावि विद्यालयमा २४ थान स्विटर वितरण गरिएको हो । १२ कक्षामा अध्ययनरत अविनाश पन्थले पछिल्लो समय विभिन्न अभियानमार्फत विपन्न तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई सहयोग गर्दै आएका छन् ।
कलिला उमेरमै समाजसेवामा अग्रसर हुँदै उनले आफ्नो नेतृत्वमा थुप्रै सामाजिक कार्यहरू सञ्चालन गरेका छन् । उनको यो अभियानले जाडोका कारण विद्यालय जान समस्या झेलिरहेका बालबालिकाहरूलाई राहत पु¥याएको छ ।










