दुइ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर प्रदान
भञ्ज्याङ समाचारदाता/दमौली

हंककङ नेपाली महासंघ र सोअर्स एक्सन हंककङको संयुक्त प्रयासमा तनहुँका दुइ स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको छ । दमौली अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र भिमादलाई १०/१० लिटरको एक/एक थान कन्सनट्रेटर प्रदान गरिएको हो । तनहुँ समाज हंककङको पहलमा उक्त संस्थालाई कन्सनट्रेटर प्रदान गरिएको समाजका सचिव सुबित गुरुङले जानकारी दिए ।
उक्त कन्सनट्रेटर दमौली अस्पतालमा शनिवार आयोजित कार्यक्रममा महासंघका प्रतिनिधि आकाशउ प्रेतीले दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्याल र प्राथमिक स्वास्थ्य केन्द्र भिमादका लागि स्वास्थ्य कार्यालय तनहुँका लेखापाल कृष्ण न्यौपानेलाई प्रदान गरेका थिए । हरेक जिल्लाका दुइ स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सनट्रेटर प्रदान गर्ने योजनाका साथ देशका ७७ जिल्लामा पुगिने योजना रहेको कार्यक्रम संयोजक एवं हंककङ नेपाली महासंघका पूर्व अध्यक्ष रिता गुरुङले जानकारी दिइन ।
हंककङ नेपाली महासंघका अध्यक्ष टंक रानाले कोभिडको समयमा स्वास्थ्य क्षेत्रलाई सानो भएपनि सहयोग गर्ने अभियान स्वरुप कन्सनट्रेटर प्रदान गरिएको बताए । उक्त कार्यक्रम तनहुँ समाज हंककङका तनहुँ कार्यक्रम संयोजक प्रदीप काफ्लेले सञ्चालन गरेका थिए ।










