मिर्लुङको ठूलोढुंगामा चैतेदशै पूर्णिमा मेला सञ्चालन गरिने
भञ्ज्याङ समाचारदाता/मिर्लुङ

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगामा चैतेदशै पूर्णिमा मेला सञ्चालन गरिने भएको छ । ठूलोढुंगा बजार व्यवस्थापन समितिको शनिबार बसेको भेलाले परम्परादेखि चल्दै आएको चैतेदशै पूर्णिमा मेला संरक्षण गर्न मेला सञ्चालन गर्ने निर्णय गरेको हो ।
ठूलोढुंगा बजार व्यवस्थापन समितिका अध्यक्ष क्या. होम बहादुर गुरुङको अध्यक्षतामा बसेको भेलाले यही चैत २६ देखि वैशाख ४ गतेसम्म ठूलोढुंगा बजार मेला सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त मेलामा फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, छोलो प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
मेलाका अवसरमा आयोजित फुटबल प्रतियोगिताको विजेतालाई एक लाख एक हजार १११ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५५५ रुपैयाँ, मेडल, प्रमाणपत्र, ट्रफीद्वारा पुरस्कृत गरिने भएको छ । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने भएको छ ।










