तनहुँमा ८१.३० प्रतिशत निजी आवास पुनःनिर्माण, ११ लाभग्राहीले रकम फिर्ता गरे
भञ्ज्याङ न्यूज

गोरखा भुकम्पका कारण क्षति भएका भौतिक पुर्वाधार अन्तरगत निजी आवास पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ असार मसान्तसम्म ८१.३० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाको व्यास नगरपालिकामा २ हजार १७२, भानु नगरपालिकामा ४४ हजार ६५९, बन्दिपुर गाउँपालिकामा एक हजार ६३, आँबुखैरेनी गाउँपालिकामा ८२१, देवघाट गाउँपालिकामा ६३७, घिरिङ गाउँपालिकामा ३२४, भिमाद नगरपालिकामा एक हजार १९७, म्याग्दे गाउँपालिकामा एक हजार ४१२, शुक्लागण्डकी नगरपालिकाममा २ हजार ९ र ऋषिङ गाउँपालिकामा ५६० वटा गरी १४ हजार ८५४ निजी आवास पूर्णरुपमा क्षति भएको कार्यालयले जनाएको छ।
यस्तै, भुकम्पबाट व्यासमा ३६९, भानुमा दुइ सय, बन्दिपुरमा ५३, आँबुखैरेनीमा १३०, देवघाटमा २४, घिरिङमा ६, भिमादमा १३४, म्याग्देमा ७७, शुक्लागण्डकीमा ६९ र ऋषिङमा ७२ गरी एक हजार १३४ घर आंशिक क्षति भएका थिए। पूर्णक्षति भएका १४ हजार ८५४ मध्ये २०७८ असार मसान्तसम्म ११ हजार ४९५ जना लाभग्राहीले तेस्रो किस्ता लगि घर निर्माण सम्पन्न भएको कार्यालयका निमित्त आयोजना प्रमुख जयप्रकाश गुप्ताले बताए । उनले भने, ‘पूर्णक्षति भएकामध्ये १४ हजार १३९ जनाले पहिले किस्ता र १२ हजार ३२८ जनाले दोस्रो किस्ता लगिसकेका छन् ।’ उनका अनुसार आंशिक क्षति भएका एक हजार १३४ जनाको घरमध्ये ८०४ जना लाभग्राहीले पहिलो किस्ता र १० जना लाभग्राहीले दोस्रो किस्ता लगिसकेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका कारण जारी गरिएको निषेधाज्ञाका कारण पनि भुकम्पबाट क्षति भएका घर पुनःनिर्माणलाई असर पुगेको उनले बताए । कार्यालयका निमित्त आयोजना प्रमुख गुप्ताले भने, ‘निजी आवास पुनःनिर्माणका लागि दिइएको रकम केही लाभग्राहीहरुले राहत रकम दिएको बुझेर अन्य कुरामा खर्चा गरिदिदा पनि केही घरको पुनःनिर्माण सम्पन्न हुन सकेको छैन ।’ ‘निजी आवास पुनःनिर्माणमा लाग्ने केही प्रतिशत रकम लाभग्राहीहरुले नै व्यहोर्नपर्ने हुन्छ’, उनले भने, ‘केही लाभग्राही आर्थिक रुपमा कमजोर हुँदा पनि घर पुनःनिर्माण हुन सकेका छैनन् । केही लाभग्राहीहरु बृद्धबृद्धा हुनुहुन्छ ।’
यस्तै, सर्भे गर्दा लाभग्राहीमा नपरेका ६६३ जनाले पुनरावेदन दिई २०७८ असार ११ गतेको पत्रानुसार पुनरावेदनबाट २१ जना लाभग्राही कायम भएका छन् । ४४१ जना लाभग्राही आंशिक क्षतिबाट पूर्णक्षतिमा कायम भएर आएको कार्यालयले जनाएको छ । यस्तै, एकल महिला, ज्येष्ठ नागरिकलगायत जोखिम वर्गका १९ जना लाभग्राहीलाई घर पुनःनिर्माणका लागि थप ५० हजार दिइएको छ ।
रकम लगेका तर घर पुनःनिर्माण नगरेका ११ लाभाग्राहीले राजिखुसि बैंकमार्फ रकम फिर्ता गरेको कार्यालयका सुचना व्यवस्थापन विज्ञ इ. माधवप्रसाद बन्जाडेले बताए । उनले भने, ‘दुइवटा बैंकले व्याज सहित पैसा फिर्ता गरेको छ । अन्य बैंकसंग पनि व्याज सहित पैसा फिर्ता गर्न निवेदन दिने तयारीमा छौं ।’ बैक मार्फ सावा एक करोड ४ लाख ५० हजार र व्याज ३ लाख ८७ हजार ६६८ गरी एक करोड ८ लाख ३७ हजार ६६८ रुपैयाँ रकम बैंकबाट फिर्ता भएको पूर्वाधार कार्यालय तनहुँले जनाएको छ ।










