तनहुँको भिमाद क्षेत्रका नदी खोलामा माछा मार्न रोक
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिका क्षेत्रमा पर्ने नदी तथा खोलाहरुमा अवैध रुपमा माछा मार्न रोक लगाइएको छ । जथाभावी करेण्ट लगाएर माछा मार्दा जलचर प्राणीहरुको नाश हुँदै जान थालेपछि भिमाद नगरपालिकाको कार्यपालिका बैठकले नै अवैद्ध रुपमा माछा मार्न रोक लगाउने निर्णय गरेको हो ।
खोला तथा नदीमा बिषादी, करेण्ट र बम प्रयोग गरी माछा मार्ने प्रवृत्तिले गर्दा जलचर प्राणी नै लोप हुने अवस्थामा पुगेपछि यसरी माछा मार्न निषेध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन सिंह थापाले बताए ।
उनका अनुसार परम्परागत रुपमा दुवाली, जाल र बल्छी खेलेर भने माछा मार्न पाइन्छ । यदि नगरपालिकाको नियमविपरीत माछा मारेको पाइएमा पहिलो पटक २ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने र दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना सहित प्रचलित कानुन अनुसार कारवाही गर्ने निर्णय बैठकले गरेको थापाले बताए ।
भिमाद नगरपालिका क्षेत्रमा पर्ने गण्डकी नदी, वान्टाङ खोला, जिदी खोला, मैदी खोला, क्याङ्दी खोला, कुलुङ खोला लगायतका नदीनालामा अवैध रुपमा माछा मार्न रोक लगाइएको हो । यी नदी तथा खोलाहरुमा निगरानी समेत गरिने भएको छ ।










