सम्पादकीय : जलाधार संरक्षण र वातावरणमैत्री विकासको अपरिहार्यता

गण्डकी प्रदेशका तनहुँ, कास्की, लमजुङ, गोरखा, मनाङ र नवलपुरका बासिन्दाले वर्षेनी बाढी, पहिरो, नदी कटान र डुबान जस्ता विपद्को सामना गर्नुपरेको छ। यो केवल प्राकृतिक कारणले मात्र नभई, वातावरणमैत्री क्रियाकलाप नगरी गरिएको अव्यवस्थित विकास, भू–उपयोग र योजनाविहीन बसोबासका कारण अझ जटिल बन्दै गएको छ । जब वर्षा सुरु हुन्छ, तब बस्ती विस्थापित हुने, खेतीयोग्य जमिन नदीको कटानमा पर्ने, सडक र पुलपुलिया भत्किने, जनधनको क्षति हुने दृश्य सामान्य भइसकेका छन् । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले प्रदेशका छ जिल्लामा एकीकृत जलाधार व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले संवेदनशील जलाधार क्षेत्रको संरक्षणमार्फत खेतीयोग्य भूमिको सुरक्षा, उत्पादकत्व वृद्धि र दीर्घकालीन जीवनस्तरमा टेवा पु¥याउने प्रयास गरेको छ ।

तर, कार्यक्रमका महत्वका बाबजुद अन्य सम्बन्धित निकायसँग सहकार्य र समन्वय नहुँदा अपेक्षित परिणाम दिन सकिरहेको छैन । ग्रामीण सडक विस्तारलाई प्रगतिको पर्याय मान्ने प्रवृत्तिले प्रकृतिमै संकट निम्त्याइरहेको छ । योजनाविहीन सडक खन्ने, भिरालो भूभागमा डोजर लगाएर सडक निर्माण गर्ने, उत्खननको माटो अव्यवस्थित फ्याँक्ने जस्ता कार्यले वर्षायाममा विपदलाई निम्त्याइरहेका छन् । यसले बस्ती मात्र होइन, खेतीयोग्य जमिनलाई समेत विनाश गर्दै गाउँको अस्तित्व नै संकटमा पारिदिएको छ । यसबाहेक, भू–उपयोग वैज्ञानिक ढंगले नहुँदा दीर्घकालीन असर देखिन थालेको छ । तराई र बेसिका क्षेत्रमा जग्गा प्लटिङ र अनियन्त्रित बस्ती विस्तारले उर्वर भूमि बाँझिँदै गएको छ । भू–स्वरूप बिग्रँदा जलाधार क्षेत्रको संवेदनशीलता बढेको छ । उर्वर जमिनको क्षति राष्ट्रिय आम्दानी, कृषि उत्पादन र ग्रामीण जीवनस्तरमै प्रतिकूल असर पार्ने खतरा बढ्दै गएको छ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयले संरक्षण र विपद न्यूनिकरणका प्रयास स्वरूप विभिन्न जातका विरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ । बाँस, डालेघाँस, फलफूलका बिरुवा, सिंचाइका लागि कुलो, नदी कटान नियन्त्रणका तटबन्ध जस्ता कार्यक्रमले केही लाभ दिएका छन् । सेती, मस्र्याङदी, बुढीगण्डकी, कालीगण्डकी र नारायणी नदीका १२ हजार १७८ दशमलव ७ वर्गकिलोमिटर क्षेत्रमा सञ्चालन भएका कार्यक्रमले संरक्षणको प्रयास देखाएका छन् । तर, यस कार्यालयमा मात्र १२ जना बहुविषयक प्राविधिक रहँदा कार्यक्षेत्रको फराकिलोपन र सेवाग्राहीको चापका कारण प्रभावकारी ढंगले काम गर्न गाह्रो भएको छ । यसबाहेक, कार्यालयले सिधै बजेट नपाउने समस्या झेल्दै आएको छ। नेता तथा मन्त्रीहरुको मागअनुसार कार्यक्रम तोकिदा स्थानीय आवश्यकतालाई बेवास्ता गर्ने प्रवृत्ति अझै विद्यमान छ ।

यस्तो राजनीतिक हस्तक्षेपले कार्यक्रमलाई जनमुखी बनाउन कठिनाइ भएको कार्यालय स्वयं स्वीकार्छ । जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित नगरी गरिने कार्यक्रम दिगो बन्न नसक्ने हकमा यस्ता अभ्यासले फेरि असफलता दोहो¥याउने खतरा छ । गण्डकी प्रदेशको आधा भन्दा बढी भूभाग नै भिरालो, कमजोर भूबनोट र भूकम्पीय कम्पन सम्भावना भएको क्षेत्र हो । छोटो समयमा हुने असमान वर्षा, वन विनाश, छाडा चरिचरन, अवैज्ञानिक भू–उपयोग, वातावरणीय सोच विना निर्माणकार्यले भूक्षय, बाढीपहिरो र नदी कटानका समस्या वर्षेनी बढाइरहेका छन् । ढुंगा, गिट्टी, बालुवा जस्ता नदीजन्य स्रोतको अनियन्त्रित दोहनले नदीको स्वरूप र पारिस्थितिक सन्तुलनमा गम्भीर असर पारेको छ । यसले देखाउँछ, वातावरणमैत्री विकास र वैज्ञानिक भू–उपयोग नगरेसम्म समस्या समाधान हुनेवाला छैन । प्राकृतिक स्रोतको संरक्षणलाई विकासको आधार नबनाई गरिने हरेक गतिविधि दिगो बन्न सक्दैनन् । बस्ती विस्तार, सडक निर्माण वा अन्य भौतिक पूर्वाधार विकास गर्दा भूगर्भीय अवस्था, जलप्रवाह, वनस्पति र स्थानीय समुदायको जीवनशैलीलाई ध्यान दिन जरुरी छ।

अबको बाटो स्पष्ट छ- प्राकृतिक स्रोत र वातावरणसँग सहजीवनमै विकास सम्भव छ भन्ने बुझ्नुपर्ने बेला आएको छ । भू–जलाधार क्षेत्रलाई केवल भू–भागको रूपमा होइन, उत्पादन, संरक्षण र भविष्यको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको सम्पत्ति भनेर बुझ्नुपर्ने समय हो । यसका लागि सरकारले नीति निर्माण मात्र होइन, त्यसको इमान्दार कार्यान्वयनमा जोड दिनुपर्छ । सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, जनताको प्रत्यक्ष सहभागिता, दीर्घकालीन रणनीति र पारदर्शी कार्यान्वयन नै वातावरणमैत्री विकासको आधार बन्न सक्छ । तराईदेखि हिमालसम्मका बस्तीलाई सुरक्षित राख्ने, कृषि उत्पादनमा टेवा पु¥याउने, प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने दिशा यही हो । हामीले वातावरणमैत्री क्रियाकलापलाई प्राथमिकतामा राख्न सकेनौं भने बाढी, पहिरो, नदी कटान र डुबानजस्ता विपद अझ बढ्नेछन् । यसले केवल बस्ती मात्र होइन, हाम्रो जीवन, उपजाऊ जमिन र भविष्यका पुस्ताको अस्तित्वलाई समेत संकटमा पार्नेछ । त्यसैले, अब समयमै चेतना लिएर भू–जलाधार संरक्षण र वातावरणमैत्री विकासलाई मुख्य एजेन्डा बनाउनैपर्छ । यही बाटोले मात्र सुरक्षित, दिगो र समृद्ध गण्डकी प्रदेशको भविष्य सुनिश्चित गर्न सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker