प्रतिनिधिसभा निर्वाचन : तनहुँमा मतदान केन्द्र र मतगणनास्थल तयार

दमौली : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । जिल्लाका सबै निर्वाचन केन्द्रमा आवश्यक सामाग्रिसहित निर्वाचन अधिकृत सहितको टोली पुगेर आवश्यक तयारीमा जुटेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा कायम गरिएको १४४ वटा मतदान केन्द्र मध्य ८ वटा अति संवेदनशील, ५२ वटा संवेदनशील र ८४ वटा सामान्य रहेको सूचिमा राखिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
उनका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं. २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ ।
मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार÷प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले मतपेटिका सुरक्षित रूपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिएको बताए ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारागार कार्यालय तनहुँ र कृषि विकास कार्यालय गरी जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्ने भएकाले सोका लागि अस्थायी मतदान केन्द्र बनाइएको उनले जानकारी दिए ।










