कांग्रेस तनहुँको महाधिवेशन र महासमिति सदस्य निर्वाचन स्थगित
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँको महाधिवेशन र महासमिति सदस्य निर्वाचन स्थागित गरिएको छ । निर्वाचनका लागि गठित निर्वाचन समिति संयोजक फणिन्द्र कोइरालाले पनि राजिनामा दिएका छन् । कांग्रेस तनहुँमा रिक्त तीन महाधिवेशन र महासमिति सदस्य चयनका लागि गठित निर्वाचन समिति संयोजक कोइरालाले मंगलबार राजिनामा दिएका हुन् ।
कोइरालाले राजिनामा दिएसँगै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचन स्थगित भएको छ । हालसम्मको सबै काम रोकिएको कांग्रेस केन्द्रले नयाँ निर्वाचन संयोजक तोकेपछि मात्रै नयाँ प्रक्रिया सुरु हुने कांग्रेस तनहुँ सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
यस्तै, रिक्त तीन महाधिवेशन प्रतिनिधिका लागि १६ जनाको मनोनयन दर्ता भएको थियो । तनहुँ क्षेत्र नम्बर १ मा एक जनाका लागि ६ र क्षेत्र नम्बर २ मा दुइ जनाका लागि दश जनाको उम्मेदवारी दर्ता भएको थियो । महासमिति सदस्य क्षेत्र नम्बर १ मा एक र २ मा दुइ रिक्त छ ।
क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ अशोक गुरुङ, राजकुमार श्रेष्ठ, प्रतापसिं गुरुङ, गलबहादुर गुरुङ, लेखबहादुर राना र बैंशबहादुर गुरुङले मनोनयन गरेका छन् । क्षेत्र नम्बर २ को दुइ महाधिवेशन प्रतिनिधि (प्रत्यक्ष खुला) तर्फ कृष्णराज पण्डित, रविचन्द्र पौडेल, बालकृष्ण घिमिरे, विष्णुहरि पाठक, मोहन गिरी, सन्तोष घिमिरे, विष्णु मल्ल, वीरबहादुर थापा मगर, माधव भट्टराइ र श्रीराम आलेले मनोनयन गरेका छन् ।










