तनहुँमा दशौ विश्व योग दिवस मनाइयो

दमौली । तनहुँको भिमाद नगरपालिकामा दशौ विश्व योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कन्द्र तनहुँले नगरपालिकाको समन्वयमा पाँचदिने उपचारात्मक योगासन, प्राणायाम तथा ध्यान सम्बन्धी प्रशिक्षण कार्यक्रम गरी योग दिवस मनाएको हो ।
कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले विश्व योग दिवसदेखि नगरपालिकामा योगलाई भिमाद आयुर्वेद औषधालय मार्फत निरन्तरता दिने बताए ।

उनले योगलाई निरन्तरता दिदा समाजमा विकराल रुपमा फैलिदै गएको नर्सर्ने रोगहरुलाई रोकथाम र नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
योग दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइ, योग प्रशिक्षक डा. नारायण श्रेष्ठ, डा. अनिल थापा, वैद्य निरिक्षक भोजहरि रानाभाट, कविराज निरिक्षक देवेन्द्र यादव, वैद्य निरिक्षक गणेश कोइराला लगायतको सहभागिता र सहजिकरणमा करिब पाँच सय जनालाई योग प्रशिक्षण दिइएको बताइएको छ ।

यस्तै, विश्व योग दिवसकै अवसरमा बन्दीपुर गाउँपालिकाको डुम्रे वजारमा पनि पाँच दिने योग शिविरलाई निरन्तरता दिंदै विश्व योग दिवस मनाइएको छ ।










