सभागृहको नाम परिवर्तन गर्न तनहुँका दलहरुको माग
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको दमौलीमा निर्माणाधिन अवस्थामा रहेको सभागृहको नाम परिवर्तन गर्न माग गरिएको छ । निर्माण कार्यको अन्तिमचरणमा पुगेको सभागृहको नाम नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको नाममा नामाकरण गर्न लागिएकोमा उक्त नाम परिवर्तन गर्न माग गरिएको हो ।
तनहुँमा क्रियाशील नेकपा (एमाले), नेकपा (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत बाह्र वटा राजनीतिक दलका प्रतिनिधिले बुधबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै सभागृहको नाम परिवर्तन गर्न माग गरेका छन् ।
जिल्ला समन्वय समितिको विसं २०७८ चैत ८ गतेको निर्णय र चैत ९ गते जिल्ला सभाले सभागृहको नाम विपी सदन सभा गृह दमौली तनहुँ राख्ने निर्णय गरेको थियो । तनहुँका क्रियाशील राजनीतिक दलहरुले उक्त निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको नेकपा (एमाले) का उपाध्यक्ष हरिराज कंडेलले बताए ।
राष्ट्रिय स्तरको व्यक्तित्वलाई विवादमा ल्याउने काम गर्न नहुने भन्दै कंडेलले सबै दलसँग यसबारे परामर्श गरी उपयुक्त नामबाट सभागृहको नामाकारण गर्नुपर्ने उनले बताए । यस्तै, नेकपा (माओवादी) व्यास नगर समन्वय समितिका संयोजक रामचन्द्र सापकोटाले सभागृह निर्माणको सम्झौताकै बेलामा जे नाम थियो सोही नाम हुनुपर्ने पार्टीको प्रष्ट धारणा रहेको बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टी गण्डकी प्रदेश समितिका सदस्य नेत्र रानाभाटले विसं २०३५ सालकै जिल्ला सभागृह तनहुँबाट सम्झौता अनुसारको दमौली सभाहल नामाकरण गर्नुपर्ने बताए ।
दलहरुले बुझाएको ज्ञापनपत्रमा सभागृहको नाम परिवर्तन गर्ने निर्णयले तनहुँवासीको मनोभावनामा मात्र ठोस नपुगी प्रजातान्त्रिक समाजवादका आदर्शवान नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनैतिक व्यक्तित्वलाई समेत विवादित बनाउने काम भएको उल्लेख गरिएको छ ।
यस्तै, ज्ञापनपत्र बुझदै समन्वय समितिका प्रमुख वाग्लेले नामको विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउँदै सभाकै सदस्यहरुमध्येबाट यसको प्रस्ताव आए सभामा छलफल गर्न सहज हुने धारणा राखे । उनले भने, ‘त्यतिबेला सबैको सहमतिमा नामको निर्णय भएको हो । आफैले गरेको निर्णय उपर मैले प्रस्ताव लैजान नैतिक रुपमा अप्ठ्यारो हुन्छ। सभाकै कोही सदस्यबाट प्रस्ताव आए यसमा छलफल गर्न सजिलो हुन्छ ।’
२०३५ सालमा निर्मित जिल्ला सभागृहलाई शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् नयाँ निर्माण गरिएको हो । नवनिर्मित भवन अन्तिम चरणमा पुगेको छ । हाल भवनमा रङरोगनको काम भइरहेको छ ।
नेपाल सरकारले करिब २३ करोड ५० लाख भन्दा बढि रकम खर्चेर निर्माण भएको यो भवनलाई कुनै एक नेताको नाममा नामाकरण गर्न खोज्नु आपत्तीजनक भएको दलहरुको बैठकले निश्कर्ष निकालेको छ । उक्त सभाहलको आगामी भदौ २४ गते विपि जयन्तीको अवसरमा राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने तयारी गरिएको बताइएको छ ।
यस्तै, व्यास नगरपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवन निर्माण रोक्न पनि तनहुँका राजनीतिक दलले माग गरेका छन् । बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका बाह्र राजनीतिक दलले ऋण लिएर भवन बनाउनुको औचित्य नरहेको बताएका छन् ।
नगरपालिकाको हाल रहेको भवनमै भाडा नलागेर सटर बन्द रहेकाले नयाँ भवन बनाउनुको औचित्य नरहेको बताइएको छ । तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार इकाइ र सम्पूर्ण व्यवसायीको समेत असहमति रहेकाले ठूलो मात्रामा ऋण लिएर भवन बनाउने निर्णय सच्याउन माग गरिएको छ । ज्ञापनपत्र बुझाउन नेकपा एमालेका उपाध्यक्ष हरिराज कंडेल, नेकपा माओवादी केन्द्रका व्यास नगर संयोजक रामचन्द्र सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सहसंयोजक सूर्यमणि पौडेल लगायत सहभागी थिए ।
यस्तै व्यास नगरपालिकाले निर्माण गर्न लागेको बहुद्देश्यीय भवन अहिलेको अवस्थामा औचित्यहिन र निर्थक भएको बैठकले निश्कर्ष निकालेको छ । ३० करोड भन्दा बढि ऋण लिएर भवन बनाउनुको औचित्य नगरपालिकाले पुष्टि गर्न नसकेको भन्दै कडेंलले बहुउद्देश्यीय भवन बनाउने निर्णय कार्यान्वयन नगर्न अनुरोध गरिएको बताए ।