शुक्लागण्डकीमा लोकबाजा संरक्षण अभियान
राजकुमार आले (दुलेगौंडा)

नेपालमा करिब १५६ वटा लोकबजाहरु पत्ता लागेको तथ्यहरु भेटिन्छ । तर, आजकल पहिले झैँ यी लोक बाजाहरुको धुन सुनिन्न छाडेको छ । वनपाखामा गुञ्जने बाँसुरी र मुरलीको सुरिलो धुन सुनिदैन । गाउँठाउँमा हुने साँस्कृतिक कार्यक्रमहरुमा पनि मादल र सारङ्गी निकै कम बज्छन् । पुराना लोक बाजाहरुको ठाउँ आधुनिक बाजाहरुले लिइरहेको छ ।
क्यासेट हुँदै पेनड्राइभ र मोबाइलबाट सिधै स्पिकरमा गीत बज्ने भएपछि मौलिकता हराउँदै गएको छ । युवाहरु मादलमा भन्दा गितार, ड्रमसेट जस्ता आधुनिक बाजातिर बढी आकर्षित छन् । आधुनिक प्रविधि अपनाउँदा न गाउन पर्यो, न त बाद्यवादक नै चाहियो । यसले गर्दा ती पुराना लोक बाजाहरुको धुन र तालसंगै बाद्यवाधकहरु पनि हराए । समाजमा मादल बजाउने कला भएको व्यक्ति पाउन समेत मुस्किल भइसकेको छ ।
तर, तनहुँको शुक्लागण्डकी-४, दुलेगौडामा शुक्रबार फरक दृश्य देखियो । प्रत्येकको हातमा मादल थियो । हँसिलो मुहारमा उत्साह देखिन्थ्यो । अतिथिहरु मञ्चमा जिज्ञासु पारामा आशिन थिए । एक्कासी स्व. धनबहादुर गायकले संकलन तथा सिर्जना गर्नुभएको यो दाजुको मिरमिरे आँखामा बोलको गीतको ताल घन्कियो । महिलाहरुले ढुक्कसंग सामुहिक रुपमा गीत गाउँदै र मादल बजाउन थालेपछि उपस्थित अतिथिहरुले ताली पिटे ।
उत्साहित हुँदै महिला दिदीबहिनीहरुले भजन, ख्याली र झयाउरे ताल पनि सुनाए । अरिदेव नेवा मिस पुचःमा आवद्ध नेवार समुदायका महिलाहरुले यसरी एक महिनादेखि मादल बजाउने कला सिक्दै आएका थिए । यो दृश्य तालिमको समापन समारोहको थियो । तालिममा २२ जना महिलाहरु सहभागी थिए ।
समाजमा हुने विभिन्न कार्यक्रमहरुमा बाद्यवादनको कला नहुँदा बाहिरबाट पैसा दिएर ल्याउनु पर्ने बाध्यता भएकाले अब आफै सिकौँ भो भनेर सबै दिदीबहिनीहरु सहभागी भई तालिम लिएको समुहकी अध्यक्ष इश्वरी माया श्रेष्ठले बताइन् । उनले भनिन्, ‘विवाह, व्रतबन्ध, पुजाआजामा मादल, खैजडी, मुजुरा बजाउने कला हामीसंग थिएन, समाजमा टोलमा कार्यक्रम हुने भएपछि मान्छे खोज्न लाग्नुपथ्र्यो, रत्यौलीमा समेत पुरुषलाई नै ज्यु, हजुर गरेर बजाउन लगाइथ्यो ।’
जुन कार्यक्रम गर्दा पनि मादल बजाउने मान्छे खोज्न परेपछि आफै सिकौँ भनेर कसिएको अध्यक्ष श्रेष्ठले बताइन् । कहिल्यै मादल नछोएकोलाई एक महिना पनि सिक्नका लागि समय थोरै भएको भन्दै उनले छोटो समयमा भएपनि आधारभुत ज्ञान लिन पाएकोमा खुसी व्यक्त गरिन्। ‘घिन र ताङ भन्ने नै थाहा थिएन, सिक्दै जाँदा मादल बजाउने टक बसेको छ, कतै बिर्सिन्छ कि भनेर साथीहरुले व्यक्तिगत रुपमा मादल पनि किन्नु भएको छ’, उनले भनिन् । अझै मादल बजाउने कलालाई निखार्दै व्यवसायिक रुपमा अगाडी बढ्ने चाहाना रहेको उनले सुनाइन् ।
तालिममा सहभागी लक्ष्मी श्रेष्ठले मादल बजाउन जानेपछि अझै आत्मबल बढेको बताइन् । ‘मन लगाएर सिकियो भने गाह्रो कुरा पनि सहज हुने रहेछ, प्राय महिलाहरु जेमा पनि अरुकै भर परिहेको हुन्छौँ, अब हामी महिलाहरुले पनि केही गरौँ भनेर तालिम लिएका हौँ’, उनले भनिन् । तालिमबाट मादलको ताल बुझेको र अहिले भजन, ख्याली र झयाउरे ताल बजाउन जानेको भन्दै उनले आमा समुहहरुले गर्ने स-सानो कार्यक्रमहरुमा मादल बजाएर काम चलाउन सक्ने भएको बताइन्।
गाउन र बजाउन छोडेपछि कला संस्कृतिहरु विस्तारै हराउँदै गएको महसुस भएकाले मादल तालिम व्यवसायिकताका लागि भन्दा पनि कला संरक्षणका लागि अति आवश्यक देखिएको बिर्सना श्रेष्ठले बताइन् । उनले शुरुमा ताल सिक्न गाह्रो भएपनि अहिले सजिलै लागेको र समाजमा हुने विभिन्न साँस्कृतिक गतिविधिहरुमा सिकेको सीपलाई सदुपयोग गर्ने बताइन् । अर्की प्रशिक्षार्थी शर्मिला श्रेष्ठले सिकेको सीपलाई कहिल्यै नविर्सने आफुहरुले बाचा कसम खाएको भन्दै सिक्न रुचि राख्नेहरुलाई आफुले सिकेको कला सिकाउने योेजना बनाएको सुनाइन् ।
शुक्लागण्डकी वडा नं. ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले आदिवासी जनजातीहरु कला संस्कृतिमा धनी रहेको र ती कला संस्कृतिहरु हराउँदै जान थालेपछि संरक्षणका लागि वडाले बजेट विनियोजन गरेको बताए । ‘तालिमको लागि ५० हजार छुट्याएका थियौँ’, उनले भने, ‘हामीलाई मादल बजाएर पनि सुनाउनुभयो, तालिम प्रभावकारी नै भएछ भन्ने लागेको छ।’
वडाध्यक्ष श्रेष्ठले तालिमबाट सिकेका कलाको सहि सदुपयोग हुनुपर्ने बताउँदै नेवार समुदायले मनाउने पर्व र जात्राहरुमा वाद्यवादकको अभाव अब नहुने विश्वास व्यक्त गरे । उनले भने, ‘यसअघिका बर्षरुमा देखिएको बाद्यवादकको अभाव अब यही समुहले पुरा गर्ने छ, मलाई निराश बनाउनु हुनेछैन भन्नेमा विश्वस्त छु ।’










