व्यासमा आइतबारबाट विद्यालय खोल्ने तयारी, १०० भन्दा कम भएका विद्यालयमा सबै कक्षा प्रत्यक्ष
भञ्ज्याङ न्यूज
तनहुँको व्यास नगरपालिकाले कोरोना संक्रमण जोखिमका बीच पनि आगामि आइतबारबाट विद्यालय खुल्ला गर्ने तयारी गरेको छ । नगरपालिकाले एक सय भन्दा कम विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
कोभिड-१९ का कारण प्रभावित भएको सिकाई प्रक्रियालाई निरन्तरता दिन नगरपालिकाको गत मंगलबार बसेको बैठकले उपयुक्त बैकल्पिक माध्यमको प्रयोग गरी बालबालिकाहरुलाई पठनपाठनमा निरन्तरता दिने निर्णय गरेको थियो। बालबालिकालाई सकभर बैकल्पीक विधि अनलाइन कक्षा र सम्भव नभए एक सय भन्दा कम विद्यार्थी भएको विद्यालयमा नियमित दुइ बजेसम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
दिउँसो दुइ बजेसम्म मात्र प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्ने र मध्यान्तर बिदा नगर्न नगरपालिकाले विद्यालयहरुलाई निर्देशन दिएको छ । एउटा कक्षा कोठामा २५ जना भन्दा बढी नरहने गरी विभिन्न समुह वा वा जोर बिजोर, आलोपालो गरी बढीमा चार घण्टा मध्यान्तर नहुने गरी कक्षा सञ्चालन गर्न निर्देशन दिइएको व्यास नगरपालिकाका शिक्षा शाखाका उपसचिव नगेन्द्र प्रसाद रेग्मीले बताए ।
विद्यालय सञ्चालन हुँदाको समयमा विद्यालयमा सरसफाई, शौचालय, मास्क, सेनिटाइटर, साबुन पानी लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यवस्था मिलाउन भनिएको छ । विद्यालयको सवारी साधान प्रयोग हुने भएमा एक सिटमा एक जना मात्र विद्यार्थी रहने गरी सवारी साधान चलाउने, नगरपालिलका, शिक्षा तथा सामाजिका विकास शाखा, स्वास्थ्य तथा जनसंख्या शाखा, वडा कार्यालयबाट निरन्तर अनुगमन गरिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जारी गरेको निर्देशन पालना नभएको पाइएमा कक्षा सञ्चालन बन्द समेत गर्न सकिने बताइएको छ । कुनै शिक्षक वा विद्यार्थीमा संक्रमणको शंका भएमा तत्काल विद्यालय नजिकको स्वास्थ्य संस्था इकाईमा सूचना गर्न आग्रह गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, स्टाफ र विद्यार्थी प्रतिनिधी बीच आपसी परामर्श समन्वयमा थप सचेतना र सावधानी अपनाएर कामकाज सञ्चालन गर्न आग्रह गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।










