बन्दिपुर गाउँपालिकाद्वारा आयआर्जनका लागि अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण

भञ्ज्याङ समाचारदाता (बन्दिपुर)

तनहुँको बन्दिपुर गाउँपालिकाले आयआर्जनका लागि सहज बनाउने उद्देश्यले अपाङ्गता भएका व्यक्तिलाई बाख्राको पाठी र कृषकलाई मकैको बीउ वितरण गरेको छ । गाउँपालिकाले वडा नं. १ का सात जना अपाङ्गता भएका व्यक्तिलाई मूल पूँजी बीउ अन्तर्गत एक/एक बाख्रा र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन मकैको बीउ वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी र वडाका वडाध्यक्ष भानुभक्त पोखरेलले संयुक्तरूपमा अपाङ्गता भएकालाई बाख्राको पाठी हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन संघको आयोजनामा एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । न्यून आय भएका तथा विपन्न वर्गका विशेषगरी नेत्रहीनसम्बन्धी अपाङ्गता भएका छनोट गरी बाख्रा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

लक्षित वर्ग कार्यक्रम अन्तर्गत मूल पूँजी बीउअनुरुप रु ७५ हजार बराबरको बाख्रा वितरण गरिएको हो । उनीहरूलाई बाख्रापालनतर्फ आकर्षित गराएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ। गाउँपालिकाले शुरुमा सानो सहयोग गरे पनि पछि यसबाट राम्रो उत्पादन गरी व्यावसायिक रूपमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

यसतै, गाउँपालिकालाई बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले मूल बीउ वितरण गरिएको छ । गाउँपालिकाले अरुण-२ उन्नत जातको १२० किलोग्राम मकैको बीउ मूलबीउ लागि वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषक बीउका लागि अन्यत्र धाउनु नपर्ने गरी उन्नत बीउमा आत्मनिर्भर बनाउनका लागि मूल बीउ वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सुलभ अधिकारीले बताए ।

बीज वृद्धिका लागि समूह र सहकारीको मागअनुरुप बीउ उपलब्ध गराइएको छ । मूल बीउबाट उत्पादित बीउ अर्को वर्ष कृषकलाई पुनः वितरण गरिने प्रमुख अधिकारीले बताए । नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन गरिएको उन्नत मकैको बीउ वितरण गरिएको सो पालिकाले जनाएको छ । कृषकले बीउ खोज्दै हिँड्नुपर्ने समस्यालाई अन्त्य गर्नका लागि पालिकाले यस किसिमको अभियान चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

यसैगरी तरकारी खेतीका लागि ४७ घरधुरीका कृषकलाई टनेल निर्माणका लागि ९५ थान प्लाष्टिक वितरण गरिएको छ । गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लगानीमा बीउ र टनेल वितरण गरिएको छ ।

गाउँपालिकाले धान, सुन्तला र मकै खेतीका लागि पकेट क्षेत्र बनाउनका लागि विभिन्न क्षेत्रलाई प्रस्तावित गरेको छ । धरमपानी क्षेत्रलाई सुन्तला, शेराटारलाई मकै र झप्रीलाई धानखेतीका लागि पकेट क्षेत्र बनाउन प्रस्तावित गरेको हो । उक्त स्थानको छिट्टै अवलोकन तथा अनुसन्धान गरी पकेट क्षेत्र घोषणा गर्ने योजना गाउँपालिकाको रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker