आँवुखैरेनीको अग्लो झोलुङ्गे पुललाई साहसिक खेल क्षेत्रका रुपमा विकास गरिने
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित समस्तिपुर र बरडाँडालाई जोड्ने गरी खुदी खोलामा निर्माण गरिएको झोलुङ्गे पुललाई साहसिक खेल पर्यटन क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
नेपालकै दोस्रो अग्लो उचाईमा रहेको दाबी गरिएको यस पुलमा गाउँपालिकाले आवश्यक पूर्वाधार तयार गरी साहसिक खेल पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजना अगाडि ल्याएको हो ।
स्थानीय खुदीखोलाको सतहबाट २७५ मिटर उचाइमा रहेको यस पुलमा एडभेन्चर स्पोर्टस खेलको रुपमा विकास गर्न गाउँपालिकाले चासो देखाएको छ । उक्त पुलसम्म जाने सडकको स्तरोन्नती गर्दै बञ्जीजम्प, जीपलाइन लगायतका साहसिक खेलको रुपमा विकास गर्न डिपीआरको तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
‘यो खेलको सम्भाव्यता अध्ययन गरेर थप एड्भेन्चरका पूर्वाधार जोड्नको लागि तयारी गरिहेका छौ’, अध्यक्ष चुमानले भने, ‘यसको विकाससंगै पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौ ।’
अहिले उक्त पुल हेर्न, फोटो खिचाउन र टिकटक बनाउन प्राय दैनिक जसो आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । पुलको आडैमा रहेको गिरानचौरका गुरुङ समुदायको बस्तिलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न गाउँपालिकाले तीस लाख रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ ।
सोही स्थान नजिकै रहेको आँधीमूल मन्दिरमा ताल सहितको आँधीमूल निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । उनले भने, ‘पर्यटकीय सम्भावना बोकेका स्थानको पहिचान गरी पर्यटन प्रबर्द्धनका पूर्वाधार निर्माण, प्रचारप्रसार गरी पालिका तथा स्थानीय नागरिकको आर्थिक पाटो सबल बनाउने योजनाका साथ गाउँपालिका अगाडि बढेको छ ।’
२२० मिटर लामो झोलुङ्गे पुल बनेसँगै यहाँका स्थानीय बासिन्दाले एक घण्टाको दुरी दुइ मिनेटमा नै पार गर्न सक्ने भएका छन् । खुदी खोलाको खोल्सा वारी-पारी रहेका यी दुइ गाउँविच मेलापात र लेनदेन हुँदै आएपनि आवतजावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता अहिले हटेको छ ।
सुन्तला खेती तथा तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा मानिएको समस्तिपुरका कृषकहरुले यसअघि बरादी बजारसम्म उत्पादित बस्तु ढुवानीका लागि समस्या खेप्दै आएका थिए । दुइ गाउँलाई जोड्न गरी अग्लो स्थानमा पुल बनेसँगै पछिल्लो समय यहाँ घुम्न र फोटो खिचाउन रुचाउनेहरुको आकरर्षण बढ्दै गएको छ ।
यो पुल पर्वत कुस्मामा रहेको पुलको उचाइभन्दा १०९ मिटर अग्लो र मनाङको नासो गाउँपालिका स्थित ड्रोनाखोलाको पुलभन्दा १३७ मिटर कम उचाईमा रहेको बताइएको छ । नेपालमा सबैभन्दा अग्लो पुल मनाङको नाचे गाउँ र थोचे गाउँ जोड्न पुल हो । यो पुलको उचाई नदीको सतहबाट ४१२ मिटर उचाईमा रहेको छ ।










