कांग्रेस तनहुँको वडा अधिवेशन : केही वडामा निर्वाचन, वर्षाका कारण केही वडामा स्थगित

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत तनहुँमा शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन शुरु भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा वडा अधिवेशन शुरु भएको छ ।
कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा तनहुँका नेता कार्यकर्ता आ-आफ्ना वडामा आई चुनावी माहोलमा केन्द्रित भएका छन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको छनहुँमा ८५ वडा छन् ।
जिल्लाका अधिकांश वडाहरुमा सर्वसम्मतरुपमा वडा सभापति सहित कार्यसमिति र जिल्ला प्रतिनिधिहरु छनोट गरिएको छ भने केही वडामा भने चुनावी प्रतिस्पर्धाबाट वडा सभापतिहरु छनोट गरिएको कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी गराए । उनका अनुसार वर्षाका कारण केही वडामा अधिवेशनको कार्यक्रम स्थगित भएको छ ।
तनहुँमा १४ हजार ५१६ सदस्य
नेपाली काँग्रेस तनहुँमा नयाँ सदस्य सहित १४ हजार ५१४ क्रियाशिल सदस्य रहेका छन् । पार्टीको जिल्ला कार्यमितिले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका छन् ।
जिल्लामा ७ हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने नवीकरण गरेका सदस्य ६ हजार ९३५ छन् । योसँगै १४ हजार ५१४ क्रियाशिल सदस्य पुगेको कांग्रेस तनहुँले जनाएको छ ।
तनहुँको व्यासमा सबैभन्दा बढी २ हजार २४६ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा २४९ नयाँ सदस्य थपिएका हुन् । भानुमा १ हजार १४८, शुक्लागण्डकीमा १ हजार ४०, भिमाद नगरपालिकामा ५५५, देवघाटमा २५७, बन्दिपुरमा ४४२, म्याग्देमा ७४९, घिरिङमा २७५ र ऋषिङ गाउँपालिकामा ६१८ नयाँ सदस्य थपिएका छन् ।
यीसंगै व्यासमा २ हजार २२४, भानुमा १ हजार १६५, शुक्लागण्डकीमा ९४९, भिमादमा ४८६, देवघाटमा १५५, आँबुखैरेनीमा १६०, बन्दिपुरमा ३८९, म्याग्देमा ६३५, घिरिङमा २०३ र ऋषिङमा ५६९ जनाले नवीकरण गराएका छन् ।
यस्तै, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा जिल्ला सभापतिका लागि कार्यवाहक सभापति जीतप्रकाश आले, जिल्ला सचिव विश्व बाँस्तोला, पूर्वसचिव प्राडा कृष्णप्रसाद गौतम लगायतको चर्चा छ । जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी पनि जिल्ला सभापतिका लागि आकाङ्क्षी रहेका छन् भने, वर्तमान सभापति एवं व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने पनि पुनःसभापतिमा दोहोरिने चर्चा कार्यकर्तामाझ चलेको छ ।
वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराइ, प्रदीप पौडेल लगायत ‘हेभिवेट’ नेताहरु पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने संघर्षमा छन् । कार्यवाहक सभापति जीतप्रकाश आलेले जिल्ला सभापतिका लागि आफू स्वभाविक उम्मेदवार भएको बताउँदै आएका छन् ।
जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यासको नगर सभापतिमा ट्रेड युनियन काँग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नगर समितिका सहसचिव डम्बर अधिकारी, हरिदत्त पौडेल, डा शेषरमण न्यौपाने प्रतिस्पर्धी देखिएका छन् ।










