महासचिव विप्लवको टिप्पणी : ओली–प्रचण्डको सहकार्य ‘क्षणिक’

दमौली : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको पछिल्लो राजनीतिक सहकार्यलाई ‘क्षणिक मिलन’को संज्ञा दिएका छन्।
तनहुँको दमौलीमा आइतबार आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक परिस्थितिका कारण दुई नेताबीच सहकार्य भएको दाबी गर्दै यो लामो समय टिक्ने अवस्था नरहेको टिप्पणी गरे ।
महासचिव विप्लवले नेकपा (माओवादी केन्द्र) अहिले स्पष्ट राजनीतिक दिशा र गन्तव्यविहीन अवस्थामा पुगेको आरोप लगाए। जनताका सपना, दुःख र आकांक्षालाई बोकेर अघि बढेको आन्दोलन आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै गएको उनको भनाइ थियो ।
उनले पार्टीका जिल्ला नेता निसानले पार्टी परित्याग गरेको प्रसंग उल्लेख गर्दै बन्दीपुरमा सञ्चालन गरिएको बाख्रापालन कार्यक्रमसँग जोडेर व्यंग्यात्मक टिप्पणीसमेत गरे ।
यस्तै, विप्लवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ संकेत गर्दै उक्त पार्टी पनि आन्तरिक विभाजनको जोखिममा रहेको दाबी गरे । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामाबारे भइरहेको चर्चा, प्रधानमन्त्री बालेन्द्र साह -बालेन)सँग सम्बन्धित विषय तथा राजनीतिक नैतिकताका प्रश्न उठाउँदै उनले विभिन्न टिप्पणी गरे । साथै, डा. वाग्लेलाई राजीनामा गराउनुभन्दा बालेनलाई हटाएर रवि लामिछानेलाई अघि सार्ने प्रयास भइरहेको भन्ने आरोपसमेत लगाए ।
महासचिव विप्लवले राष्ट्रिय स्वाधीनता, उत्पादनमुखी अर्थतन्त्र, समाजवादी रूपान्तरण र जनताको समृद्धि आफ्नो पार्टीका प्रमुख एजेन्डा रहेको बताए । उनले भने, ‘देशको विकास आफ्नै स्रोत, साधन र श्रमको अधिकतम उपयोगबाट सम्भव हुने उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउनुपर्ने र नेपाली सेनाले सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीकी सूचना विभाग केन्द्रीय सदस्य सावित्री दुरा, गण्डकी प्रदेश संयोजक आजाद, जिल्ला सचिवालय सदस्य ओमविक्रम पन्तलगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।










