गेट र भ्यू टावरमा होइन अस्पताल र विद्यालयमा लगानी गरौं : नेता डा. कोइराला
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जनप्रतिनिधिले विकासका नाममा अनुपादक क्षेत्रमा लगानि गरेको बताएका छन् ।
तनहुँको बन्दिपुर गाउँपालिका-२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै उनले विकासका नाममा जनप्रतिनिधिहरुले देशका विभिन्न ठाउँमा गेट, भ्यू टावर बनाउने गरेको र त्यो काम अनावश्यक खर्च भएको बताएका छन् ।
‘गेट, भ्यू टावर निर्माणमा गरिएको लगानीलाई स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा खर्चनुपर्छ’, उनले भने, ‘अनावश्यक कुराका खर्च गरेकोले बजेटको सही सदुपयोग हुन सकेको छैन ।’
‘अत्यावश्यक र उत्पादन मुलक क्षेत्रमा बजेट खर्च गरेमात्रै विकास मद्दत पुग्द छ’, नेता कोइरालाले भने, ‘पहाडमा भ्यू टावर बनाउने र तराइमा गेट बनाउने होडबाजी जस्तै देखिएको छ ।
अग्लो ठाउँमा भ्यू टावर बनाउनुको अर्थ छैन भने गेट बनाउँदा जनताको हातमा आम्दानी हुँदैन, यस्ता कार्य आगामी दिनमा नर्गन म आग्रह गर्छु ।’ भ्यू टावर बनाउँदैनौ भनेर प्रतिज्ञा गर्न आग्रह गर्दै नेता कोइरालाले भने, ‘भ्यू टावरको खर्च हामी अस्पताल, विद्यालय बनाउन, खानेपानीको लागि गछौं भनेर अब चुनावमा उठ्दा भन्नुहोस् ।’
नेपाली समाज अहिले पनि डोकोमा पानी भरेर घरमा पुर्याउने अवस्थामा हुनु भनेको बिडम्बना भएको र यसले देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने प्रष्ट हुने चर्चा गर्दै उनले भने, ‘यस तर्फ गम्भिर भएर सोचेर फजुल खर्च गर्न छोड्नुहोस् ।’
शिक्षा, अस्पताल, खानेपानी र सडक जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा बिकास बजेट विनियोजन गर्न निरन्तर प्रयाय गर्ने र त्यसको लागि सहयोग र सहकार्यका लागि आफु तयार रहेको नेता डा. कोइरालाले प्रतिवद्धता जनाएका छन्।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराइले देशको विकास गर्ने र विकासको नीति निर्माण गर्ने पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै देशको आम्दानी कम भएकोले अन्तर्राष्ट्रिय सहयोग जुटाउने र वैदेशिक रोजगारीको ढोका खोल्ने काम पनि कांग्रेसले नै गरेको बताए ।
बन्दिपुरमा १ करोड ५० लाख ७० हजार रुपैयाँको लागतमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण सम्पन्न
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, नेपाली कांग्रेस बन्दिपुरका सभापति कर्णबहादुर खत्री, कांग्रेसका जिल्ला नेता प्रेमबहादुर बानियाँले लगायतले विकासको लागि आग्रह र पूर्वाग्रही नगरी आवश्यकताको आधारमा हुनु पर्नेमा जोड दिएका थिए ।
स्थानीय उपभोक्ताको ३३ प्रतिशत लागत सहभागिता र संघीय सरकारबाट प्राप्त बजेट गरी १ करोड ५० लाख ७० हजार रुपैयाँको लागतमा विद्युतीय लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको सिमलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँ मार्फत निर्माण गरिएको उक्त खानेपानी आयोजनाबाट सिमलटार, धरापानी, चामुण्डाथान र थुम्कीका २२५ घर परिवार प्रत्यक्ष लाभाविन्त भएका छन् । अध्यक्ष बानियाँका अनुसार उपभोक्ताको घरघरमा मिटर सहितको धारा जडान गरिएको छ ।
प्रति १० युनिटसम्मको पानी उपभोग गर्दा उपभोक्ताले १५० रुपैयाँ शुल्क तिर्नुपर्ने र त्यो भन्दा बढि उपभोग गरेमो प्रति युनिट १५ रुपैयाँका दरले शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष बानियाँले बताए ।
कुँवाको पानी डोकोमा बोकेर उपभोक्त गर्दै आएका स्थानीय लिफ्ट प्रविधिबाट घर आँगनमै पानीको धारा पुगेपछि निकै खुसी लागेको अस्मिचन्द ठकुरीले बताइन् । ‘कुवाबाट ल्याइएको पानी सिधै उपभोग गर्दा स्थानीयमा आउँ, झाडापखला जस्ता विभिन्न पानीजन्य रोगले सताउने गरेको थियो ।
अब यो समस्या पनि हट्दै गएको छ’, उनले भनिन्, ‘अब पानीको जोहो गर्न डोको बोकेर कुँवा धाइराख्नु पर्ने दिनको अन्त्य भएको छ । हामी महिला दिदीबहिनीहरु निकै उत्साहित छौं ।’










