व्यास-१ भादगाउँ खानेपानी आयोजनाको पाइप पहिरोले बगायो, पानी वितरणमा समस्या
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ भादगाउँको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाइप पहिरोले बगाएको छ । समितिले व्यास-१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुर्याएको हो ।
गत दुइ दिन निरन्तर परेको बर्षातले व्यास नगरपालिका-१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको छ । पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका सचिव राजेश्वर हड्खलेले बताए ।
डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूल्ठूला ढुङ्गा थुप्रिएको हुँदा २०० एमएमको जिआइ पाइप ६५ मिटर बगाएर क्षति भएको सचिव हड्खलले बताए । पहिरो स्थलको अवस्था हेर्दा एक महिनामा पनि पन्छाएर नसकिने देखिएको र पहिरोका कारण करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेण्ड नौ लिटर रहेकोमा पहिरोले क्षति पुर्याएपछि पानी वितरणमा समस्या देखिएको समितिका व्यवस्थापक इश्वर श्रेष्ठले बताए । उक्त आयोजनाको पानी सञ्चालन नहुँदासम्म छाब्दी खोला लिफ्टिङ र धुपखोलाको पानीले एक दिन बिराएर पानी वितरण गर्ने तयारी समितिको छ ।
पहिराले क्षति बनाएपछि अस्थायीरुपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि जति सक्दो चाँडो पानी सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल अघि बढाइएको छ । उक्त खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्दछ । उक्त संस्थाले २ हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको जनाएको छ ।

नेपाल सरकारको सहलगानीमा निर्माण गर्न लागेको मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको द्विपक्षीय सम्झौता गरिसकिएको छ । नेपाल सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने व्यवस्था रहेको छ ।
सहलगानीमा कूल २६ करोड १४ लाख ९३ हजार ५१८ रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गर्ने योजना रहेको छ । बर्षोनि बाढी पहिराले खानेपानीमा क्षति पुर्याउन थालेपछि समितिले मादीनदी लिफ्टिङ आयोजनालाई जोड दिएको छ ।










