शैक्षिक गुणस्तर वृद्धि गर्ने बन्दिपुरको शिक्षा नीति

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको बन्दिपुर गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष कार्यक्रमहरु अगाडि ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अवलम्बन गर्नुपर्ने कार्यक्रमहरु प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले प्रत्येक विद्यालयमा एकाइ परीक्षा संचालन, नतिजा विश्लेषण र सुधारको कार्य गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापक र गाउँपालिकाकाको शिक्षा, युवा तथा खेलकुद शाखासंग र शिक्षकहरूले प्रधानाध्यापकहरुसंग कार्यसम्पादन सम्झैता गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने नीति लिइएको छ ।

कार्यसम्पादन सम्झौतामा रहेका सूचकमा आधारित भई शिक्षकलाई पुरस्कार र सजायको व्यवस्था समेत गर्ने नीति लिइएको गाउँपालिकाले सबै माध्यमिक विद्यालय र कक्षा १-८ संचालित सबै अधारभुत विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापना गरी शिक्षण सिकाइमा सुचना प्रविधिको प्रयोग गर्ने र सबै माध्यमिक विद्यालयमा क्रमशः विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्थापन गर्दै जाने नीति लिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

‘निशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी ऐन, २०७५ ले व्यवस्था गरे बमोजिम गाउँपालिका भित्रका विद्यालय उमेर समुहका सबै बालबालिकाहरू विद्यालय भर्ना गराएका छौ’, अध्यक्ष थापाले भने, ‘विद्यार्थीको स्वास्थ्य र पोषणमामा सुधार ल्याई विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा उपस्थित गराइ शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत सबै बालबालिकाका लागि दिवा खाजाको व्यवस्थापन गराएका छौ ।’


नेपालको संविधान २०७२ को धारा ३१ बमोजिम गाउँपालिकाभित्र रहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको उनले बताए । अध्यक्ष थापाले भने, ‘स्थानीय पाठ्यक्रम प्रारुप २०७१ विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन -मातृभाषा सहित) २०७६ मा रहेको प्रावधान बमोजिम गाउँपालिकाको स्थानीय परिवेश, भाषा, संस्कृति, कृषि, पर्यटनमा आधारित रहि कक्षा १-८ को स्थानीय पाठ्यक्रम निर्माण अन्तिम चरणमा रहेको र अब छिट्टै पाठ्यपुस्तक लागुगर्ने तयारीमा छौ ।’

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा अध्यापनरत शिक्षकहरूको पेशागत विकासका गोष्ठी, अभिमूखिकरण तथा तालिमहरू संचालन गर्दै अगाडि बढ्ने नीति लिइएको गाउँपालिकाले अभिभावकहरूलाई विद्यार्थीको शिक्षण सिकाइमा जिम्मेवार बनाउन अभिभावक निर्मित शैक्षिक सामाग्री प्रदर्शनी, कक्षागत अभिभावक भेला, खुला विद्यालय अभियान, अभिभावक संचार डायरीको व्यवस्थापन गरेको छ ।

विद्यालयमा अधारित शिक्षकका पेशागत विकासका लागि पाठ अध्ययन संचालन, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रधानाध्यापकहरुको सेवा सुविधा वृद्धि तथा शिक्षकहरुलाई विषयवस्तु केन्द्रित पुनःताजकि तालिम समेत सञ्चालन गरी शैक्षिक गुणस्तर वृद्धि गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए ।

‘किशोर किशोरीलाई मनोसामाजिक परामर्श कार्यशाला सञ्चालन, विद्यालयमा नर्स कार्यक्रम सञ्चालन तथा स्थानीय पाठ्यपुस्तक कार्यन्वयन गर्ने तयारीमा हामी लागेका छौ’, प्रमुख प्रशासकीय अधिकृत हमालले भने, ‘सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ का छात्राहरूका लागि सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।’

यस्तै, गाउँपालिकाले शैक्षिक सत्र २०८० का लागि शैक्षिक पात्रो निर्माण तथा कार्यन्वयन गरी पालिकास्तरीय विद्यालय अनुगमन समितिबाट विद्यालयमा नियमित अनुगमन तथा सुपरीवेक्षण, कक्षा अवलोकन र सिकाइ उपलब्धी मापन परिक्षण गर्ने भएको छ ।

गाउँपालिका भित्रका युवाहरुलाई गाउँ सभाको अभ्यास गराउन नमुना युवा गाउँसभा संसद अभ्यास कार्यक्रम, खेलाडीको प्रतिभा प्रस्फुटन गर्न अध्यक्ष कप भलिवल तथा फुटवल प्रतियोगिता, कक्षा १-८ संचालित आधारभुत विद्यालय र माध्यमिक विद्यालयलाई खेलकुद सामग्री वितरण, ४ वटा विद्यालयको भत्तेलेखन र कक्षाकोठा व्यवस्थापनका साथै ७ वटा विद्यालयमा विधुतिकरण, कक्षा १-५ संचालित सबै सामुदायिक विद्यालयमा एक थान कम्प्युटर र एक थान प्रिन्टर वितरण, शिक्षकलाई वार्षिक र दैनिक शैक्षिक योजना निर्माणका लागि शिक्षक डायरीको व्यवस्थापन, शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासँग अन्तरक्रिया लगायतका कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी गराए ।

यस्तै, गाउँपालिकाले पवित्रा माध्यमिक विद्यालयमा नमुना विद्यालय गुरूयोजना अन्तर्गत छात्रावास निर्माण कार्य गरिरहेको र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला व्यवस्थापनका लागि सम्झौता गरेको छ ।

सशर्त कार्यक्रम अन्तर्गत १ वटा पुस्तकालय र १ वटा विज्ञान प्रयोगशाला स्थापनाका लागि सम्झौता गरेको छ । गाउँपालिका अर्न्तर्गतका सबै ३१ वटा विद्यालयमा इन्टरनेट जडान, झारगाउँ आधारभूत विद्यालयका लागि ४ कोठे भवन र शिवशक्ति आधारभूत विद्यालयका लागि २ कोठे भवन निर्माणाधिन अवस्थामा रहेको छ भने शिव माध्यमिक विद्यालयमा ४ कोठे भवन र शान्ती आधारभूत विद्यालयमा पनि २ कोठे भवन निर्माणाधिन अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै, गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । २०७९ सालको एसइइ परीक्षामा उत्तीर्ण भएका पालिका भित्रका प्रत्येक माध्यमिक विद्यालयबाट १/१ जना गरिव तथा जेहेन्दार विद्यार्थी मध्यबाट छनौट गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

बन्दिपुर-१ नाहाला स्थित पवित्रा माध्यमिक विद्यालयमा संचालित प्राविधिक तथा ब्यवसायीक तालिम परिषदमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाका अध्यक्ष थापाले बताए । प्राविधिक शिक्षा हासिल गरेका पालिका भित्रका युवाहरुलाई पालिकामा प्राथमिकताका साथ रोजगारीको अवसर दिईने भएको छ ।

एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत यसै शैक्षिक सत्रदेखि पवित्रा माविमा एक जना नर्स वा अहेवको दरबन्दी कायम गाउँपालिकाले तयारी गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ वडाअध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker