व्यवसायका लागि एपेक्स मल बुकिङ खुल्ला
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा निर्माण गरिएकोको सुविधासम्पन्न मल एपेक्स मल बुकिङका लागि खुल्ला गरिएको छ । एपेक्स मल्टिप्लेक्स प्रालिले व्यास-२ स्थित सफासडकमा निर्माण गरेको व्यापार व्यवसायका लागि बुकिङ खुल्ला गरेको हो । मलको तयारीका विषयमा बुधबार पत्रकार सम्मेलन गरी आगामी दशैदेखि मल र सिनेमा हल सञ्चालनमा ल्याउने तयारी गरिएको मलका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले बताए। कोरोना कहरका कारण मल सञ्चालनमा ढिलाई भएको उनले बताए ।
करिब ४५ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सेवा सुविधा सहित एउटै छानामुनी किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त सिनेमा हल सञ्चालनका लागि मल निर्माण गरिएको श्रेष्ठले जानकारी गराए ।
काठमाडौ र पोखराको सेवा सुविधा दमौलीमै दिनको लागि मल संचालन गर्न मल सञ्चालक लागि परेका छन् । अबदेखि सुविधा सम्पन्न हलमा फिल्म हेर्न दमौली बाहिर जानु नपर्ने बताइएको छ ।
मलमा दुइ वटा सिनेमा हल समेत निर्माण गरिएको छ । जसअन्तर्गत २३८ र १२० सिट क्षमताका छुट्टाछुट्टै हल तयार गरिएको छ । तेस्रो तलामा सेवा मुलक संघ संस्थालाई प्राथमिकता दिने समेत प्रालिले जनाएको छ ।
एयर कन्डिसनयुक्त, सिसिटिभीको निगरानीमा २४ सै घण्टा सुरक्षागार्डको उपस्थितिमा साताभरि नै मल सञ्चालन गरिने प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले बताए । कुल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुल्ला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको जनाइएको छ ।
मलको तल्लो तल्लामा ११ वटा पसल रहेका छन् । जहाँ स्वदेशी तथा विदेशी ब्राण्डका सामग्री विक्रीवितरणको व्यवस्था मिलाइने भएको छ । पसल बुकिङ गर्नेहरुका लागि पहिलो २ महिनासम्म पसल सजाउने तयारीका लागि पूर्ण भाडा छुट, तेस्रो महिनादेखि छैठौ महिनासम्म ४० प्रतिशत, सातौदेखि १२औं महिनासम्म ३० प्रतिशत, १३औं देखि १८औ महिनासम्म २० प्रतिशत भाडा छुट र तीन वर्षम्म एक रुपैयाँ पनि भाडावृद्धि नगरिने मलले जनाएको छ । मलले स्थानीय २०-२५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिने भएको छ ।










