पञ्चमुनिदेवका विद्यार्थीहरु “पढ्दै कमाउँदै” : बत्तिको चिम निर्माण गरी बिक्री वितरण
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगैडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले पढ्दै कमाउँदै गरेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सीप सिकेर विद्यार्थीहरुले बत्तिको चिम (ब्लब) तयारी गरी बिक्रि वितरण गर्न थालेका छन् ।
विद्यालयमै चिम बनाउने सीप सिकेसंगै विद्यार्थीहरुले अहिले ५ वाट र ९ वाटका चिम उत्पादन गर्दै आएका छन् । विद्यार्थीहरुले ५ वाटको चिम १२० रुपैयाँ र ९ वाटको चिमलाई १६० रुपैयाँमा आफैले बिक्री वितरण गर्दै आएको विद्यालयका ±२ संयोजक एवं सूचना अधिकारी लक्ष्मण पुरीले बताए ।
उनले भने, ‘विद्यालयमै विद्यार्थीहरुलाई चिम बनाउने सीप सिकाइएको थियो । बिहानी सत्रमा पठनपाठन गर्ने र दिउँसोको समयमा विद्यार्थीहरुले चिम बनाउने सीप सिकेका थिए ।’
चिम निर्माणका लागि आवश्यक पर्ने कच्च पदार्थ विद्यालयले उपलब्ध गराउँदै आएको र उत्पादित ब्लव बिक्रीबाट भएको आम्दानीको २० प्रतिशत रकम विद्यार्थीले विद्यालयलाई दिनुपर्ने व्यवस्था गरिएको शिक्षक पुरीले बताए ।

‘विद्यार्थीहरुले आफुले उत्पादन गरेको चिम अभिभावक, छिमेकी तथा स्थानीय बजारमा बिक्री वितरण गर्दै आएका छन्’, शिक्षक पुरीले भने, ‘चिमहरु व्यवसायीले खरिद गर्न माग गरेपनि अहिले विद्यार्थीहरुले उत्पादनसंगै बजारीकरणको ज्ञान समेत लिनुपर्ने भएकाले आफै बिक्री वितरण गर्दै आएका छन् । अहिले फाइदा भन्दा पनि सीप सिकाउने र सीपको विकास गर्नुलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै, पढ्दै कमाउँदै कार्यक्रममा जोडिएका विद्यार्थीहरु पनि अहिले निकै उत्साहित भएका छन् । विद्यार्थीहरुले चिम निर्माण गरी बिक्रि वितरण पश्चात भएको आम्दानीबाट आफ्नो अध्ययन खर्च समेत जुटाउने गरेको कक्षा १२ की छात्रा लक्ष्मी श्रेष्ठले बताइन् ।
उनले भनिन्, ‘पढ्दै कमाउँदै कार्यक्रमले हामीलाई सीप सिक्ने र सिकेको सीपलाई व्यवहारमा उतारेर कसरी आम्दानी लिन सकिन्छ भन्ने ज्ञान प्राप्त भएको छ । हामी निकै उत्साहित छौं । यो सीपले भोलिका दिनमा हामीलाई स्वरोजगार बन्ने अवसर मिल्लने छ ।’

विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/०८० का लागि १० लाख रुपैयाँ प्राप्त भएको थियो ।
विद्यालयले व्यवसायीक तथा सीप मुलक शिक्षा अर्न्तर्गत कक्षा ११ र १२ मा कम्प्यूटर साइन्स, भेटेरिनरी साइन्स पनि पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले जानकारी गराए ।












