नेकपा तनहुँद्वारा अग्रज नेताहरु बीच परामर्श

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बुधबार दमौलीमा जिल्लास्तरीय अग्रज नेताहरुबीच परामर्श कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागि अग्रजहरुले पार्टी भित्र देखिएका विवादका विषयमा चर्चा गर्दै पार्टी एकतालाई सुदृढ बनाउँदै नेताहरुबीच देखिएको तिक्तता अन्त्य गर्न माग गरेका छन् । परामर्श कार्यक्रममा सहभागि नेताहरुले पार्टी एकताका पक्षमा तनहुँ जिल्ला एकढिक्का रहेको सन्देश दिंदै पार्टी भित्र देखिएको विवादलाई सबै पक्षको सहमतिमा तत्काल अन्त्यगर्नुपर्ने सुझाव दिएका छन् ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देलले नेताहरुलाई खुइलाएर सामाजिक सञ्जालमा कटु टिकाटिप्पणी नगर्न आम पार्टी पंक्तिमा आग्रह गरेका छन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष एवं संघीय सांसद केदार सिग्देलले पार्टी एकताको पक्षमा तनहुँ एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले पार्टीभित्र विवादहरु सृजना हुन्छन् त्यसलाई लिएर टिकाटिप्पणी गर्दा विचार पुर्याउनुपर्ने बताएका छन् ।
कार्यक्रममा नेकपा तनहुँका अग्रज नेताहरु शेषमणि आचार्य, विद्यानाथ ढकाल, विश्वबन्धु भण्डारी, दधिराज सुवेदी, इन्द्रबहादुर अधिकारी, डम्बरदेव कैनी लगायतले गुण र दोषको आधारमा पार्टीभित्र प्रणालीगत रुपमा आफ्ना कुरा राख्न आग्रह गर्दै अनावश्यक टिकाटिप्पणी गर्न उचित नरहेको सुझाव दिएका छन् । प्रतिगमनकारी शक्तिले टाउँको उठाउन खोजेको वर्तमान परिस्थितिमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका अन्य राजनीतिक शक्तिसंग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा कार्यक्रममा सहभागि नेताहरुले जोड दिएको बताइएको छ ।










