बन्दीपुरमा साताव्यापी तीज सप्ताहन्न उत्सव सुरु, महानायक हमालले गरे शुभारम्भ
बन्दीपुर : तनहुँको बन्दीपुरमा साताव्यापी तीज सप्ताहन्न उत्सव सुरु भएको छ । उक्त उत्सवको शनिबार एक कार्यक्रमका बीच महानायक राजेश हमालले शुभारम्भ गरेका छन् । उत्सवको शुभारम्भ गर्दै महानायक हमालले पर्यटकीय हिसाबले, धार्मिक हिसाबले बन्दीपुरले विशेष स्थान ओगटेको बताउँदै बन्दीपुरको महत्व संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘बन्दीपुरको संस्कृति, रितीरिवाज, परम्परालाई जोगाइराख्न स्थानीयवासीको महत्वपूर्ण भूमिका रहन्छ’ उनले भने, ‘आधुनिकताको नाममा संस्कृति, रहनसहनबाट भुल्दै जान थालिएकाले यसको जगेर्ना गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सप्ताहन्न कार्यक्रमले बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि सहयोग पुग्ने बताए । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रकृति र संस्कृतिको संगम भूमि बन्दीपुरमा आयोजित यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उनले बताए ।
करिब ५० टिमको सहभागीता रहेको प्रतियोगिता यही २२ गतेसम्म चल्ने क्षेत्रीय होटल संघ तनहुँका उपाध्यक्ष बिपिन प्रधानले बताए । उत्सव कार्यक्रममा हरेक दिन प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेबी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगायतका कलाकारहरुको छुट्टाछुट्टै प्रस्तुती रहेने बताइएको छ ।
कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला तीज गीत प्रतियोगिता”, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन, समेत प्रस्तुत गरिने कार्यक्रम रहेका छन् । बन्दीपुर गाउँपालिकाको संरक्षकत्वमा र बन्दीपुरमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेका हुन् ।
कार्यक्रम अन्तर्गत हरेक दिन बन्दीपुर क्षेत्रका विभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन, विभिन्न आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने छ भने प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहने कार्यक्रमका संयोजक एवं बन्दिपुर केवलकारका संचालक किरण पोख्रेलले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत धार्मिक शक्तिपीठहरु सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराउने र महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम समेत रहेको छ ।
उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा कार्यक्रम सुरु भएको उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँ खड्गदेवी मन्दिर” प्राङ्गणमा भएको छ । तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई रु १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्धितीयलाई रु ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र, र सान्त्वना हुने टिमलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले पुरस्कृत गरिने भएको छ ।