तनहुँमा हाईस र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ चुनेमुढास्थित पृथ्वीराजमार्गमा मंगलबार साँझ हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार साँझ करिब ४ः४५ बजे दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा३ख १०५९ नम्बरको हाईस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ८२१० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार कास्की पोखरा महानगरपालिका–३३ निवासी १८ वर्षीय प्रवेश लामिछाने र उनका बुबा ४७ वर्षीय प्रेमराज लामिछाने गम्भीर घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा ल्याइएकोमा अवस्था गम्भीर भएपछि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार घाइतेको उपचारमा प्रेमराजकी श्रीमती सन्ध्या गौतम लामिछाने संलग्न रहेकी छन् ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र हाईस चालक इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ । दुर्घटनाका चालकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










