नेपाली सेनाको दोस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा हुँदै
ऐतिहासिक महत्वका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा दोस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्राको तयारी गरिएको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे र्सवसाधारणलाई जानकारी गराउने उद्देश्यले चैत २७ गतेदेखि पदयात्रा हुन लागेको हो ।
तनहुँको भानु नगरपालिकास्थित रुरु भैरव दल गणले आयोजना गरेको सरोकारवालाको बैठकमा पदयात्राबारे जानकारी गराइएको छ । गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ। पदयात्रा २७ गते तनहुँको ऐतिहासिकस्थल सतिघाट आइपुग्ने र त्यहाँ स्थानीयवासीको सहभागितामा स्वागतको कार्यक्रम गरिने गणका गणपति प्रमुख सेनानी हिमाचलजङ्ग शाहले जानकारी दिए ।
राष्ट्रिय एकताको भावना जागृत हुनेगरी नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्गलगायत धरोहरको संरक्षण, सम्बर्द्धन गर्ने उद्देश्यसहित यसवर्षपनि पदयात्रा गर्न लागिएको गणका सेनानी पूर्णबहादुर थापाले जानकारी दिए ।
गोरखा दरबारबाट चैत २७ गते सुरु हुने पदयात्रा सोही दिन ३० किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाटसम्म आइपुग्नेछ । रिपुमर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ । सतिघाटबाट २८ गते प्रस्थान गर्ने टोली तनहुँकै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण -इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ ।
पदयात्रामा से.मु. नप्रिmको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी -श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुइ सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्षगोरखा-जितगढी पदयात्रा गर्दै आएको छ ।










