राष्ट्रिय परिचयपत्र सेवामा चाप बढेपछि तनहुँ प्रशासनले सेवा समय बढायो
दमौली : राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा प्रवाहको समय विस्तार गरेको छ । साथै, आगामी हप्ताभित्र थप उपकरण र जनशक्ति उपलब्ध गराइने भएपछि राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार आज शुक्रबारदेखि राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने तथा सम्बन्धित सेवा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ । सेवाग्राहीलाई टोकन प्रणालीअनुसार आफ्नो पालोमा धैर्यपूर्वक बसेर सेवा लिन प्रशासनले अनुरोध गरेको छ ।
कार्यालयका अनुसार फोटो खिचाइसकेपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने भएपनि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको प्रणाली -सिस्टम) अपग्रेड भइरहेकाले …एप्रुभÚ प्रक्रियामा केही ढिलाइ भएको छ। उक्त प्रक्रिया क्रमशः पूरा हुने भएकाले त्यसका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउन आवश्यक नपर्ने जनाइएको छ ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका तर कार्ड अझै नपाएका सेवाग्राहीले अधिकांश सरकारी सेवा राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा लिन सक्ने भएकाले कार्डका लागि अनावश्यक रूपमा कार्यालयमा भीड नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
यसैबीच, तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेको पहलपछि जिल्ला प्रशासन कार्यालय तनहुँबाट प्रदान हुँदै आएको राष्ट्रिय परिचयपत्र र राहदानी सेवामा आवश्यक उपकरण तथा जनशक्ति थप गरिने भएको छ ।
सांसद न्यौपानेले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक कृष्ण पौडेल र राहदानी विभागका महानिर्देशक दीपक विकसँग छुट्टाछुट्टै भेट गरी तनहुँका सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको समाधान गर्न आग्रह गरेका थिए ।
सो पहलपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आगामी हप्ताभित्र तीन सेट दर्ता प्रणाली र एक जना कर्मचारी जिल्ला पठाउने निर्णय गरेको छ । त्यस्तै राहदानी विभागले एक सेट थप प्रणाली उपलब्ध गराई स्टेशन अपग्रेड गर्ने जनाएको छ ।
गृह मन्त्रालयबाट एक जना कम्प्युटर अपरेटर र दुई जना खरिदार गरी तीन जना थप जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको सांसद न्यौपानेले जानकारी दिएका छन् ।
सांसद न्यौपानेका अनुसार राष्ट्रिय परिचयपत्र प्रणालीको सुस्त सञ्चालन अझै पनि मुख्य चुनौती रहेकाले यसको क्षमता विस्तार तथा प्राविधिक सुधारका लागि सम्बन्धित निकायसँग थप समन्वय र पहल जारी रहनेछ । उनले तनहुँबासीले सहज, छिटो र सम्मानजनक सेवा पाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकमा उठाइएका प्रस्ताव कार्यान्वयनका लागि आवश्यक पत्राचार तथा समन्वय भएको उल्लेख गर्दै उनले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सेवा समय विस्तार, टोकन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा थप उपकरण र जनशक्तिको व्यवस्थासँगै राष्ट्रिय परिचयपत्र र राहदानी सेवा थप सहज, व्यवस्थित र छिटो हुने विश्वास व्यक्त गरेको छ ।










