सुन्दा अचम्म लाग्न सक्छ : दसैँमा अचल बलि दिइने तीर्थस्थल गलाफु शिवालय

वासुदेव पौडेल

सुन्दा अचम्म लाग्न सक्छ, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ स्थित गलाफु शिवालय मन्दिर दसैँमा अचल बलि दिइने तीर्थस्थल हो । दसैँमा विभिन्न शक्तिपीठमा गरिने घटस्थापना फूलपाती, महाअष्टमी, महानवमी, कालरात्रि आदि सबै संस्कृतिलाई प्राचीनकालदेखि निरन्तरता दिँदै आइए पनि अन्य शक्तिपीठमा जस्तो यहाँ बोका, पाठा राँगाको बलि दिइँदैन।

दसैँमा अन्य शक्तिपीठमा गरिने बोका, पाठा, राँगा आदिको बलिको विकल्पमा अचल बलि दिइने गरिएको मन्दिरका पुजारी एवं मिलन प्रगति टोल विकास संस्थाका अध्यक्ष पृथ्वीराज मल्ल ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँको महाअष्टमी तथा महानवमीमा यहाँ नरिवल, कुविन्डो, उखु, घिरौँला आदिको बलि दिइन्छ । मन्दिरमा कालरात्रिको पनि विशेष पूजा गरिन्छ । गलाफु मन्दिरलाई आफैँ उत्पत्ति भएका देवताको मन्दिरका रुपमा लिइन्छ ।

किंवदन्तीअनुसार २०१७ साल चैत २१ गते मध्यरातमा यहाँ शिला फेला परे । चक्र स्वरुपमा रहेका शिलालाई शिव पाञ्चायनका रुपमा पूजा गर्ने गरिएको छ । अध्यक्ष ठकुरीका अनुसार तत्कालीन समयमा थप्रेक निवासी दुर्गादेवी गुरुङलाई समयसमयमा देवी चढ्ने गरेको र यहाँ शक्तिपीठ रहेको सपना आदिमा सङ्केत मिल्ने गरेछ । २०१७ साल चैत २१ गते मध्यरातामा अकास्मात चक्र स्वरुपमा कँुदिएका शिला फेला परेपछि तिनै शिला स्थापना गरी २०१८ सालको वैशाख ६ मा सानो मन्दिर निर्माण गरिएको हो । शिलालाई शिव पाञ्चायनका रुपमा पूजा गर्ने गरिन्छ । पछि विभिन्न समयमा मन्दिरको जीर्णोद्धार हुँदै गएकामा २०५० सालमा तत्कालीन पुजारी लालबहादुर मल्ल ठकुरी लगायतको सक्रियतामा अहिलेको स्वरुपमा मन्दिर बनेको हो ।

मन्दिरको पूजा व्यवस्थापनाका लागि अन्य कुनै स्रोत नरहेको जानकारी दिँदै उहाँले पूजा सञ्चालनका लागि तत्कालीन सहायक मन्त्री नरबहादुर गुरुङले २०३७ सालमा गुठी संस्थानबाट मासिक ३० रुपैयाँका दरले वर्षको ३६० रुपैयाँ उपलब्ध गराउने व्यवस्था गर्नुभएको बताउनुभयो । विसं २०४६ पछि संस्थानबाट उक्त रकम वृद्धि गरी मासिक २०० रुपैयाँका दरले वार्षिक दुई हजार ४०० रुपैयाँ उपलब्ध हुँदै आएको थियो । स्थानीयको पहलसँगै गत वर्षबाट उक्त रकम वृद्धि गरी वार्षिक ३० हजार रुपैयाँ प्राप्त हुन थालेको मल्ले जानकारी दिनुभयो ।

मन्दिरको ऐतिहासिकतालाई दृष्टिगत गर्दै पछिल्लो समयमा स्थानीय सरकारले पनि चासो दिन थालेको छ । शुक्लागण्डकी नगरपालिका– १ बाट मन्दिरको संरक्षण र विकासका लागि गत वर्ष एक लाख रुपैयाँ उपलब्ध गराइएकामा उक्त रकमबाट पर्यटन ट्रष्ट भवन निर्माण गरिएको मल्लले जानकारी दिनुभयो । “भूकम्पले ठाउँठाउँमा बिग्रे, भत्केका कारण मन्दिर मर्मत गर्नुपर्ने भएको छ, छानाका ढुङ्गा पनि फुट्ने र खलबलिने भएका छन्”, उहाँले भन्नुभयो, “विसं २०२२ मा पुराण लगाउँदा निर्माण गरिएको पाटी पनि जीर्ण बनेकाले तत्कालै मर्मत गर्नुपर्ने देखिएको छ ।”

शुक्लागण्डकी नगरपालिका–१ भित्र रहेका गलाफु मन्दिरसहित थप्रेक कोट आदि धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष रवीचन्द्र पौडेलले बताउनुभयो । गलाफु मन्दिर आसपासमा बस्ती पनि सानो रहेका कारण अपेक्षित विकास गर्न नसकिएको बताउँदै उहाँले वडाभित्रका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र विकासका लागि थप्रेक कोट पर्यटन विकास समिति गठन गरी त्यसैमार्फत आवश्यक काम अघि बढाउने सोच राखिएको बताउनुभयो ।

वडाध्यक्ष पौडेलका अनुसार यस क्षेत्रबाट धौलागिरि हिमालदेखि लमजुङ गोरखासम्मका हिमाल हुँदै पर्यटकीय नगरी पोखरा, तनहुँको सदरमुकाम दमौली आदिलाई एकसाथ नियाल्न सकिन्छ । धार्मिकरूपमा यहाँका विभिन्नस्थलको आफ्नै विशिष्टता भएको जानकारी दिँदै उहाँले धार्मिक आस्था र विश्वासका थप्रेक कोट, गलाफु शिवालय, माइको थान आदि र यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको बताउनुभयो । थप्रेकमा रहेका ठूलाठूला गह्रा, पोखरी पनि यहाँका पहिचान हुन् । धार्मिकस्थलको प्रवद्र्धन र विकाससँगै काठेपीपल, सिलिङ्गे, पोखरी थोक, अर्चलेलगायतका स्थान दृश्यावलोकनका लागि आकर्षक गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने देखिएको यहाँका स्थानीयवासी बताउँछन् ।

शुक्लागण्डकी नगपालिका–१ का धार्मिक पर्यटकीयस्थललाई पर्यटकीयरुपमा उपयोग गर्नुपर्ने अमरज्योति आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक पुष्पराज शर्मा पौडेल बताउनुहुन्छ । गलाफु, थप्रेक कोट जस्ता स्थलका साथै वडाका पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा पु¥याउन सकेमा यस क्षेत्रको समृद्धि र विकासमा टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker