तनहुँको शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्वुलेन्स सहयोग

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई कृषि उम्वुलेन्स सहयोग गरिएको छ । पालिकाका कृषकले उत्पादन गर्ने कृषि उपजलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले सुर्य नेपाल प्रा.लि.ले कृषि एम्वुलेन्स सहयोग गरेको हो ।
सुर्य नेपालले दुई पालिकालाई २६ लाख मुल्यका एक/एक थान कृषि एम्वुलेन्स शुक्रबार हस्तान्तरण गरेको मानव संसाधन विभाग प्रमुख अन्जान दुवाडीले बताए ।
नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई कृषि एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै प्रालि शेराटार कारखाना प्रमुख बाबुराम कार्कीले आफुहरुको सहयोग पश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
नगरप्रमुख पण्डितले अब गाउँगाउँमा बार अनुसार कृषि उपज संकलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि संकलन केन्द्रबाट बिक्री वितरण गरिने बताए । उनले किसानले न्यूनतम मुल्यमा कृषि एम्वुलेन्स प्रयोग गर्न पाउने भएकाले उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको र कृषि उपज संकलन केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताए ।
गाउँमा रहेका सामुदायिक भवनहरुलाई कृषि उपज संकलन केन्द्रको रुपमा विकास गरी बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने बताउँदै उपप्रमुख विकले भने, ‘राजमार्ग विस्तारका कारण रोकिएका बाँकी पूर्वाधारनिर्माणको काम छिटो सक्ने कार्यपालिका बैठकले समेत निर्णय गरेको छ ।’
सुर्य नेपालले जिल्लाका विभिन्न पालिकाहरुमा रहेका विद्यालयमा शिक्षक ब्यवस्थापन गरिदिने, एम्वुलेन्स, दमकल लगायतका उपकरणहरुको उपलब्ध गराउनुका साथै बाटो, सडक, शवदाह गृह लगायतका पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ ।










