राजा सुधन्वाको तपस्थली सपनकोट, चेदी ऐरा र सत्यवतीको जन्मस्थल
देव बस्न्यात

विषय प्रवेश
चञ्चल मन नयाँ गन्तव्यको खोजीमा थियो । गलेखामदेखि मानहुँकोट सम्म पुस्तकको बिटमार्नु भन्दा पहिला व्यास–६ मा अवस्थत सपनकोट र चुंदेर जाने हुटहुटी जाग्दै आयो । गलेखामकोट र त्यहाँका राजा चक्रधर रानाको वर्षे र हिउँदे राजधानलाई पच्छ्याउँदा पच्छ्याउँदा सपनकोट पुग्नेै पर्ने देखियो । सपनकोट र चुँदेर डा. विद्युत केशरी न्यौपानेको आँगन र कर्साबारी जस्तै थियो । जाम भनेपछि मोटर साइकल लिएर हुईंकिइ हाल्ने उहाँको स्वभाव थियो । सौन्दर्यले परिपूर्ण एवं द्वापर युगका राजा उपरीचर वसुको स्वर्गको सपनाको महल रहेको स्थल सपनकोट हामी पुग्यौं । अर्को तर्फ व्यास जन्मस्थान सेरोफेरोको सन्दर्भको खोज तलास गर्दा सपनकोट किन नपुग्ने त भन्ने लाग्यो। खर्च न बर्च काशी जान पर्छ भने झैं मोटर साइकलमा पेट्रोल छ छैन जाँचबुझ नै नगरी मादी (यमुना) नदी पुल, सुनसरी (कनक) टार, साँगे, रानीटारी हुँदै बाह्रविसे पुगियो । बाह्रबिसे पुगेपछि त्यहीका स्थानीय रामप्रसाद लामीछानेसंग भेटघाट गरी सपनकोटको वनको उकालो चढियो । जङ्गल जङ्गल भएर जाने उक्त गोरेटोबाटो पहिला पहिला तल्लो श्याम्घा गाउँको गामबेसी गर्ने मूलबाटो रहेछ । बाटोको सुरुआतमै साजबोटे नामक सत्तलपाटी भेटियो ।
उक्त सत्तलपाटी श्याम्घा निवासी गोर्खाली खलक भनेर चिनिने लक्ष्मीभक्त श्रेष्ठले बनाएको कुरा उनै रामप्रसादबाट जानकारी हुन आयो । यसै गरी सो भन्दा माथि गाउँको एउटा सामुदायिक घर पनि भेटियो । सो सामुदायिक घरमा गाउँका भद्रभलादमीहरु बसेर गाउँका भलाइका विषयमा भलाकुशरी गरी गाउँ र गाउँ निवासी जनताहरुको हीतलाई प्रधानता दिइ कामको सुरुवात गर्ने प्रचलन रहेको भेटियो । गाउँ बेसीको पाइ हुँदा सम्म हिउँदको समयमा बेसीको बसाई र गर्मीको समयमा गाउँको बसाई रहने परम्परा अद्यापि जीवन्त रहेको पाइयो । पुराना र नयाँको नागबेलीले हामीलाई ऐतिहासिक एवं पुरातात्विक बस्तुहरु भेटिने संभावनाको खोजीमा हामीमा निरन्तर लागिरहेका थियौ । आज भन्दा झण्डै ५२७८ वर्ष पहिला चेदी देशका राजा उपरीचरले तपश्या गरेको तपोभूमि र पितृप्रसादका लागि हरिणको सिकार खेल्न गएको रमणीय कैलाशयुक्त बाटुलो क्भूशैल यही ठाउँमा रहेको गोलाकारको सर्वतोभद्र भद्राधिवास भेटिए पछि हामीमा पूर्णविश्वास जागृत भयो ।
राजा उपरीचरले बनाएको देवप्रासाद कैलाशकुट भवन (घुमाउनेघर)
चेदीदेशका राजा सुधन्वा शिवभक्त थिए । यिनको वास्तविक नाम वसु र उपरीचर यिनको उपाधी रहेको थियो । यसैले यिनलाई उपरीचर वसु नामले पनि सम्वोधन गर्ने गरिथ्यो । विशेष गरेर राजा उपरीचर मृगको सिकार खेल्ने कार्यमा बढी नै सौखिन थिए । उनी पटक पटक सपनकोटको वनमा सिकारका लागि जाने गर्दथे । शिवभक्त बने पछि मात्र राजा सुधन्वामा मृगको सिकार गर्ने व्यसन छुट्न गएको थियो । शिवभक्त राजा उपरीचरले सपनकोटको चुचुरोमा सर्वतोभद्र भद्राधिवास गोलाकारको घुमाउनेघर (कैलाशकुट भवन) बनाए । राजा उपरीचरले बनाएको कैलाशकुट भवनमा हाम्रो शरिरको शिरमा लगाइने शिरपोश ढाकाटोपी, हाम्रा मठमन्दिरमा राखिने घण्टाहरुको तल्लो घेरा र राजाको राजमुकुटको तल्लो घेरा जस्तो बाटुलो देखिन्छ त्यस्तै त्यस्तै बाटुलो आकारको शिवनिवास सर्वतोभद्र कैलाशकुट भवन बनाइएको अनुभूत हुन पुगेको छ । त्यही घुमाउनेघर अर्थात कैलाशकुट भवनमा बसेर राजा उपरीचरले घोर तपश्या गरे । राजा उपरीचर वसुको तपश्याले स्वर्गको इन्द्रासन डगमगायो ।
स्वर्गका राजा इन्द्रले पनि विमान र वैंजन्ती माला उपहार दिइ चेदी देशको राजा बनेर रहन सुझाव दिए । आज सपनकोट खण्डहरमा परिणत भएर विशाल जङ्गलमा रुपान्तरित हुन पुगेपनि खण्डहर बन्न पुगेको कैलाशकुट थलो जताबाट हेर्दा पनि हिमगौर मनोहर सुरिलो गगन चुम्बी कैलाशको बाटुलो टाकुरो जस्तै भव्य देखिन्छ । आफ्नो जन्मभूमिको झझल्को चिरस्थायी रहोस, महत्वपूर्ण इतिहांसको स्मृति अझ बहुमूल्यवान बनोस, राष्ट्रियता अटल रहोस, जातीय गौरव नविर्सियोस भनेर समस्त जनताका साझाघर देवप्रसाद, राजप्रसाद घुमाउनेघर प्रभृत्तिलाई कैलाशका टाकुराका आकृति दिएर बनाएर स्वस्तिक नन्द्यावर्त…… सर्वोतभद्र भद्राधिवास कैलाशकुट भवन भन्ने चलन कायम हुँदै आयो । हाम्रो लोक प्रचलनमा घुमाउनेघर देवताको, दुइपाखे घर मानिसको र बङ्गलाघर भूतको भन्ने उखान यद्यपि प्रचलित रहेको छ ।” जीवन जगतका आदिपुरुष भगवान शिवको बासस्थान घुमाउनेघर हुनुपर्ने भएकोले नै शिवका अनुयायी राजा उपरीचरले सपनकोटको शिखरमा पनि घुमाउने घर नै बनाएको हुनु पर्दछ ।
सपनकोटको भूबनोट
सपनकोटको वनको अधिकाँश भूभाग शिखर र केही समथर मैदान छ । केही तल बेलाउँती गैह्रा भन्ने स्थान छ । यस गैह्रामा राम्रा तरेली युक्त पाटा परेका आवादी भूमि जस्तो देखिन्छ । व्यास–४ का पूर्व वडाअध्यक्ष विश्वनाथ न्यौपानेका अनुसार सपनकोटमा ५०–६० घर मगरहरुको आवादी भएको कुरा आफ्ना पिताबाट आफुले सुनेको कुरा हामीलाई बताउनु भयो । अंध्येरी भञ्ज्याङ वरपर झाँक्री र निदिनीको बसोबास क्षेत्र भएकाले पनि एक्लै दुक्लै मान्छेहरु दिउँसै हिंड्न डराउँथे भन्ने कुरा विश्वनाथ न्यौपानेले बताए । वनको माझमा देवताहरुलाई फूलको रुपमा चढाउन मिल्ने तितेपाती प्रशस्त जङ्गलमा भेटिनुले कुनै समय यो स्थान मानव आवादी भूमि थियो भन्न करै लाग्दछ । केही वर्ष अगाडिसम्म तल्लो श्याम्घाका वासिन्दाहरुले यस ठाउँमा मौसमी खोरियाको रुपमा आवादी गरी घैयाधान लगाउने गरेको कुरा व्यास ६ बाह्रबिसे निवासी ९४ वर्षिय रामप्रसाद लामिछाने र माधव न्यौपानेले हामीलाई बताए । यहाँको जलाधारहरु देउराली भञ्ज्याङमा एक आपसमा समाहित भई अंध्येरी खोला र ठेउके खोला मादी नदीमा समाहित हुन पुग्ने देखियो । वनमा रहेका यिनै खोलाबाट माछा मारेर यहाँको दरिनी नानीले दश सोली झिंगा माछा राजालाई कोसेली लगिदिएको किंवदन्ती सुन्नमा पाइन्छ ।
चुँदेर नाम एक प्रसङ्ग अनेक
साविक श्याम्घा गाउँपञ्चायत परेता पनि दमौली गाउँपञ्चायत गठन हुँदा चुंदेर व्यास ६ र हाल पनि व्यस नगरपालिका वडा नं. ६ मा नै पर्दछ । चुँदेर सपनकोटको वन र फोकसिन नामको खण्डहर गाउँको बीचमा रहेको छ । चुंदेर श्याम्घाको एउटा ठूलो वन भित्रको थुम्कोमा रहेको मगरहरुको आवादी भएको गाउँ हो । वनको बीचमा भएकोले सपनकोट संगै जोडिएको चुंदेर सिकार क्षेत्र पनि थियो । सिकार खेल्ने कार्यलाई ऐरा पनि भन्ने गरिन्छ । चुंदी र ऐर दुबै शब्द संयोजन हुँदा पनि चुंदेर बनेको हो की भनेर अनुमान गर्न सकिन्छ। अर्कोतर्फ यस गाउँमा ठूलो चुन खानी क्षेत्र भएकोले यहाँको पानीलाई स्थानीय मगर भाषामा चुन्डी (चुनपानी) भनिन्थ्यो । त्यही चुन्डी शब्द अपभ्रंश भइ चुँडी हुँदै चेदी हुन गएको पनि हुन सक्दछ ।
राजा सुधन्वाको सिकार–आरक्ष क्षेत्र भएकोले सपनकोट चुंदेर र फोकसिनको लगायतको समग्र वनक्षेत्रलाई चेदीऐरा (संस्कृत शब्दकोष अनुसार ऐरा भन्नाले सिकार खेल्ने कार्य) भन्न थालियो । त्यही चेदी ऐरा शब्द अपभ्रंश भइ चुंदेर बनेन भन्न सकिन्न। व्यासका अध्येता काशीनाथ न्यौपानेले आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घाको समग्र क्षेत्रलाई नै राजा उपरीचर (सुधन्वा)को चेदी देश भएको बताउनु भएको पाउँदछों । अर्को तर्फ यस क्षेत्रमा चुमी, राना, पुलामी, आले रखाल, खुलाल बाचे, सुनारी र ऐर थरका मगरहरुको एवं ओझा र गौली थरका ब्राह्मणहरुको बसोबास रहेको थियो । जस्मा चुमी र ऐर थरका मगरहरुको अधिक बसोबास क्षेत्र भएकोले यस स्थानको नाम चुमीऐर रहन गयो होला । कालान्तरमा चुमीऐर शब्द अपभ्रंश हुन गइ चुंदेर बनेको पनि हुन सक्दछ । लगभग वि.सं. १९४० तिर यही चुँदेरको जंगल फाँडेको निहुँमा यहाँका चुमी थरका मगर र श्याम्घाका धनञ्जय न्यौपाने बीचको वनमुद्धा श्री ३ चन्द्रशमशेरको इजलाशमा समेत पुगेको थियो । नगरेको गल्तीको माफी नमाग्ने अड्डी लिंदा धनञ्जय न्यौपाने १४ वर्ष जेल परेका थिए ।
सपनकोट, चुंदेर र पाथ्राबीचको सम्वन्ध
सपनकोटबाट कुनास्ँवारा र लामादी खोला हुँदै गइयो भने हामी पाथ्राघाट पुग्न सक्दछौं । यही पाथ्राघाटमा न्यौपानेहरुको कुलायन पूजा हुने स्थानमा विशाल पत्थर रहेको छ । यही विशाल पत्थरबाट यस स्थानको नाम पाथ्राघाट रहन गएन भन्न सकिन्न। सपनकोटको बाटो हुँदै आएको लामदी खोला र अंध्येरी खोला एक आपसमा मिलेर मिर्गे पहराको बाटो सोझ्याउँदै पाथ्राघाट भन्दा थोरै तल मादीनदीमा नै गएर समाहित हुन पुग्दछन् । यही पाथ्राघाटमा नजिकै गणेश शिला छ भने गणेश शिला नजिकै एउटा काली रह पनि थियो । राजा उपरीचरले आफ्नी रानी गिरिकालाई पठाएको वीर्य रुपि कोसेली यही रहमा पाल्तु बाजले खसाल्दा माछारुपि अद्रिका अप्सराले खान पुगी । वीर्य पान गरेको माछा गर्भवती बन्न पुगेको कथा चर्चित रहेको छ ।
मत्स्य रुपि अद्रिका अप्सरा र शिलाहरु
साविक श्याम्घा गाउँपालिका निवासी सबै जातजातिहरु श्याम्घा, साझा र थप्रेकका नागरिकहरु अझै पनि मृगको सिकार खेल्न सपानकोट र चुंदेरको वनमा जाने गर्दछन् । द्वापरको अन्त्यकाल तिर चेदी देशका राजाको सिकार क्षेत्र पनि सपनकोट र चुंदेर नै थियो। सपनामा पितृहरुले श्राद्ध समयमा मृगको मासु पनि चढाउनु भन्ने आज्ञालाई शिरोपर गरी राजा उपरीचर पितृप्रसादको लागि मृगको सिकार गर्न सपनकोटको वनमा गए। भद्राधिवासमा रहेका प्राकृतिक सौन्दर्यताले राजामा कामोत्तेजना बढदै गयो । कामोत्तेजनाले राजाको विर्य पतन हुन गयो । वीर्य खेर नजाओस भनेर राजा उपरीचरले बाज मार्फत पातको खोचीमा वीर्य राखेर ऋतुमती भएकी रानी गिरीकाको पासमा पठाए । पाल्तु बाजले आकाश मार्गको बाटो हुँदै राजा सुधन्वाको दरवार भएको स्थान सुनाघडेरीतर्फ जाँदै थियो । बाजले मिठो खानेकुरा ल्याएको सम्झेर अर्को बाजले कोसेली झम्टन गएकोले उक्त वीर्य यमुना नदीमा खस्न पुग्यो ।
ब्राह्मणको सरापले माछी बनेर रहेकी अदिका अप्सरा पनि अचानक त्यही स्थानमा आइपुगी। राजा उपरीचरको पतन भएको वीर्य सेवन गरेकी अद्रिका नामकी माछाले सेवन गर्दा माछामा गर्भ रहन गयो । बिस्तारै गर्भको अवधी नौमहिना पार गर्दै थियो । गर्भको अवधि पुग्ने पुग्ने बेलामा माछीको आफ्नै जिउ भारी हुँदा माछी आफ्नै जिउ धान्न सकिन । आफ्नो शरिर धान्न नसक्दा अद्रिका माछा मादीको पानी संगै बग्दै बग्दै तल पुगी । त्यही बेला माछा मार्न जाल खेल्दै गएको धिंवर माझीको जालमा माछी पर्न गयो । माझीले माछीको पेट चिरी हेर्दा माछाको पेटमा मानिसका शरिर धारण गरेका एउटा बालक र एउटी बालिका भेटियो । अनौठो घटना भएकोले माझीले राजामा बालक र बालिका राजा सुधन्वमा सौगात एवं भेट चढायो । राजाले आफ्ना सन्तान नभएकाले बालक आफै राखे भने माछाको गन्ध आइरहने भएकी बालिकालाई भने माझीको जिम्मा लगाएर पठाए । तिनै बालिका मत्स्यगन्धा, योजनगन्धा र सत्यवती नामले संवोधित भई हस्तिनापुरकी महारानी बन्न पुगेकी थिइन । तिनै महारानी सत्यवतीले ऋषि पराशरसंगको सहवासमा सनातनधर्मका प्रणेता महर्षि वेदव्यास र हस्तिनापुरका नरेश शान्तनुको रानी बनेर चित्राँगद र विचित्रवीर्यलाई जन्म दिएकी थिइन।
सपनकोटको वनको नजिकै मादी नदी (यमुना)को पारी रहेको पाथ्रामा अदिका रुपि अप्सराको शिला भेटिनु, माछाको शिला भएको स्थानलाई क्यामिन (कति ठूलो माछा) भनेर संवोधन गरिनु, सपनकोटको वनक्षेत्र नजिकै चुँदेर र फोकसिन नामका स्थान भेटिनु, पश्चिम भेगको मनापाङमा गन्धर्वहरुको गाउँ भेटिनु, तिनै गन्धर्भहरुसंगको युद्धमा राजा चित्राँगदको देहान्त हुनु, सेतीमादी नदीको वेनीले बनाएको व्यासप्रयाग दमौलीमा अद्रिका नामले परिचित माछाको पेट चिरिएको शिला भेटिनुमा सबैको एक साथ संयोग मिल्न पुगेको पाउँदछौं । यसैले राजा उपरीचरको पारकोट क्षेत्र भित्रका चुंदेर र चुंदी जस्ता स्थानहरुले चेदीदेश यही ठाउँ नै थियो भन्नका लागि पूर्ण सहयोग पुर्याएको छ । हुन पनि सपनकोट मध्य दक्षिण एसियाको एक प्राचीन आर्य जातिहरु बसोबास गरेको क्षेत्र हो । अर्को तर्फ साँच्चै भन्ने हो भने चुमी मगर जनजाति बसेको क्षेत्र हुनाले यसलाई चेदी देश भनिएको होला भनेर सहजै अनुमान गर्न सकिन्छ । पुराणमा उल्लेखित चेदी राज्य यमुना नदीको किनारमा फूले फलेको पाइन्छ । चेदीदेशको पूर्वी सिमाना पश्चिममा कास्की, उत्तर भोट प्रदेश र दक्षिणमा गङ्गा नदी नै पर्न सक्दथ्यो ।
माता सत्यवती र व्यास जन्मको सन्दर्भ
तिनै बालिकालाई पहिला मत्स्यग्न्धा र राजासंग विवहा भए पछि नाम सत्यवती रहन गएको हो । मत्सयागन्धा १८ वर्ष पार गर्दै गर्दा पराशर ऋषलाई डुगातार्न गाइन । एउटा नयाँ युग परिवर्तनका लागि ऋषि पराशरले मत्स्योदरी संग सहवासको याचना गरे । दुबै बीच सहमती भइ यौन सहवास हुँदा महर्षि वेद व्यासको जन्म भयो । आमाको आज्ञाले बालव्यास व्यासगुफामा पुगी तपश्यामा लिन भए । उनै वेदव्यासले आफ्नी हजुरआमा अद्रिकाका लागि छाब्दी वराहमा बस्ने व्यवस्था मिलाइ दिएका हुन भनी गण्डकी महात्म्यले बताउँछ ।