व्यास नगरपालिकाद्वारा ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण शिविर
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । नगर क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी नगरपालिकाले तीन दिने आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । शिविर शनिबारसम्म सञ्चालन गरिने छ । शिविरको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सेवा पुर्याउने मनसायले स्वस्थ्य शिविर अन्तर्गत आँखा शिविर सञ्चालन गरेको र शिविरबाट सक्दो लाभ लिन आग्रह गरे ।
पोखरास्थित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा व्यास-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

शिविरमा बिहीबार वडा नम्बर १, २, ३, ४ र ५ का ज्येष्ठ नागरिकका आँखा परीक्षण गरिएको छ । आँखा शिविरपछि शल्यक्रिया गर्नुपर्ने ज्येष्ठ नागरिकको व्यास नगरपालिकाकै खर्चमा शल्यक्रिया गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले गत वर्षदेखि ज्येष्ठ नागरिकको आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । शिविरमा शुक्रबार वडा नम्बर ६, ७, ८, ९, १० र शनिबार ११, १२, १३ र १४ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिने भएको छ ।










