ढोरबाराहीको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुुपर्छ

शुक्लागण्डकी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुपर्ने बताएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको आयोजना एवं ढोरेली सेवा समाज काठमाडौँको समन्वयमा शुक्रबार मन्दिर क्षेत्रमा सम्पन्न ‘ढोरबाराही मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यो आफैमा विशिष्ट महत्वको धार्मिकस्थल भएकाले यसको प्रचारप्रसार र प्रवद्र्धन गर्नु आवश्यक रहेको उल्लेख गरे ।
सातवटै प्रदेशमा १०÷१० वटा प्रमुख गन्तव्य छनोट गरी परिचयात्मक सामग्री (प्रोफाइल) बनाउने सन्दर्भमा गण्डकी प्रदेशमा ढोरबाराही समेटिएको बताउँदै मन्त्री पाण्डेले यस स्थलको आगामी वर्षमा प्रोफाइल तयार हुुने जानकारी दिए । यहाँको वास्तविक ऐतिहासिकता एवं आधिकारिकताका बारेमा अध्ययन, अनुसन्धान गर्दै दीर्घकालीन विकासका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
मिलेनियम ट्रेकले पनि यस क्षेत्रलाई जोड्ने बताउँदै उनले महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा यस क्षेत्रको प्रवद्र्धन गर्न सकिने धारणा राखे ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद शङ्कर भण्डारीले मन्दिरको दीर्घकालीन विकासका लागि गुरुयोजना बनाएर चरणबद्ध रूपमा अघि बढ्नुुपर्ने धारणा व्यक्त गरे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई पर्यटन बजारसँग जोड्नुपर्ने बताए ।
गण्डकी प्रदेशसभाका सांसद श्यामराज महतले मन्दिरको विकास गर्न ढोरबाराहीलाई गुठी मातहत सञ्चालन गर्नुपर्नेमा जोड दिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नगरपालिकामा उपलब्ध स्रोतसाधनले भ्याएसम्म मन्दिरको विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे ।
कार्यक्रममा संविधानसभा सदस्यद्वय आशा कोइराला र ध्रुुव वाग्ले, ढोरेली सेवा समाजका प्रतिनिधि तथा पर्यावरणविज्ञ एकराज सिग्देल, समाजकी अध्यक्ष सीता कार्की महत, विन्दवासिनी संस्कृत विद्यापीठका पूर्वप्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायत व्यक्ताले ढोरबाराही क्षेत्रको समग्र संरक्षण र प्रवद्र्धन गर्न सबैको एकताबद्ध प्रयास आवश्यक भएकामा जोड दिएका थिए ।










