तनहुँका पालिका प्रमुखहरुको पुनः सोही पदमा दोहोरिने चाहना
भञ्ज्याङ समाचारदाता/दमौली
आगामि वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिएको छ । निर्वाचनको मिति नजिकिसंगै अहिले तनहुँका दलहरुलाई उम्मेदवार चयनको विषय सकस बन्दै गएको छ ।
जिल्लाका राजनीतिक दलहरुले वडा तहदेखि पालिकाका आकांक्षी उम्मेद्वारहरुको नामावाली संकलन प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् ।
नेपाली कांग्रेस तनहुँले आकांक्षीहरुको आवदेन नै संकलन गरिसकेको छ भने नेकपा एमालेले पनि वडा कमिटी, गाउँ र नगर कमिटीबाट आकांक्षीहरुको नामावली संकलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।
यता नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीहरुले पनि भेला, अन्तरक्रिया गरी उम्मेद्वारी छनोट कार्यलाई अन्तिम रुप दिने तयारी गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरुको नामावाली संकलनको क्रममा अधिकांश स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्षले सोही पदमा दोर्याउने चाहाना व्यक्त गरेका छन् । जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा पालिका छन् । यी पालिकामा ८५ वटा वडाहरु छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा १० पालिकामध्ये नेपाली कांग्रेसका उम्मेद्वारहरुले व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका गरी ५ पालिमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र देवघाट गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेसकै उम्मेद्वार विजयी भएका थिए ।
यस्तै, नेकपा ऐमालेले घिरिङ गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा उपप्रमुख, भिमाद नगरपालिकामा प्रमुख/उपप्रमुख र देवघाट गाउँपालिकामा अध्यक्ष पदमा बिजयी भएको थियो । त्यस्तै, बन्दिपुर गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बिजयी भएका थिए ।
यसैगरी ८५ वडामध्ये कांग्रेस ५० वडामा, एमाले ३० र माओवादी ५ वटा वडामा निर्वाचित भएका छन् । जसमध्ये एमालेबाट विजयी २ जना वडाध्यक्षहरु पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा गएका छन् । यसरी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाकै पहिलो र नेकपा एमालेले जिल्लाकै दोश्रो ठुलो पार्टीका रुपमा आफुलाई स्थापित गरेका थिए ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छान्न भने अहिले पार्टीलाई सकस परेको छ । २०७४ सालको निर्वाचनमा विजयी उम्मेद्वार र पार्टीका अन्य नेताहरुले पनि नेतृत्वमा आफ्नो आकांक्षा देखाएका कारण पार्टीलाई उम्मेद्वारको टुंगो लगाउन सकस परेको देखिन्छ ।
अधिकांश पालिकाका प्रमुख उपप्रमुख पुनः सोही पदमा दोरिन चाहेको भन्दै सम्बन्धित पार्टीमा आवेदन बुझाएका छन् । नेपाली कांग्रेस तनहुँले नगर/गाउँ समिति मार्फत प्रमुख उपप्रमुख पदमा आकांक्षीहरुको नाम संकलन गरेको समयमा बर्तमान प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षले पनि आफ्नो नाम टिपाएका छन् ।
व्यासका प्रमुख बैकुण्ठ न्यौपानेले फेरि दोहोरिने इच्छा देखाएका छन् । उनले नेपाली काँग्रेस व्यास नगर कार्य समितिमा प्रमुख बन्ने आकांक्षा देखाउँदै आवेदन दिएका छन् । उनीसंगै प्रमुख बन्ने दौडमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले सहित अन्य १५ जना छन् ।
यस्तै, उपप्रमुखमा वर्तमान उपाप्रमुख मिरा जोशी सहित ७ जना महिलाहरुले आकांक्षा व्यक्त गर्दै आवेदन दर्ता गराएका छन् ।
शुक्लागण्डकीका प्रमुख किसान गुरुङले पनि फेरि प्रमुख पदकै आकांक्षा देखाउदै शुक्लागण्डकी नगर समितिमा आवेदन दिएका छन् । भानुका प्रमुख उदयराज गौलीले भने दोहोरिने इच्छा देखाएका छैनन् । गौली भानु-११ को वडा सदस्य हुँदै जिल्ला समन्वय समितिमा जाने तयारीमा लागेको चर्चा छ ।
यस्तै, जिल्लाकै एकमात्र महिला अध्यक्ष मायादेवी रानाले पनि फेरि म्याग्दे गाउँपालिकाकै अध्यक्ष पदमा इच्छा देखाएकी छन् । उनीसंगै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे सहित १० जनाले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् ।
गाउँपालिकाको अध्यक्ष भएर आएसंगै जनता र पालिकाका हक हितका लागि कार्य गरेको बताउँदै म्याग्देका अध्यक्ष रानाले पुनः अध्यक्ष पदमा आवेदन दिएको बताएकी छन् । आफु बलियो उम्मेद्वार भएको कारण पार्टीले आफुलाई नै टिकट दिनुपर्ने उनको दावी छ ।
ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको पनि फेरि दोहोरिने इच्छा छ । नेपाली कांग्रेसको पकड मानिएको ऋषिङमा श्रेष्ठसंगै संविधानसभा सदस्य झुलबहादुर आलेसहित १३ जनाले अध्यक्ष पदको आकांक्षा गर्दै आवेदन दिएका छन् ।
घिरिङका अध्यक्ष रनबहादुर राना, देवघाटका अध्यक्ष दुर्गबहादुर थापा, आँबुखैरेनीका अध्यक्ष गिरबहादुर थापा, बन्दिपुरका अध्यक्ष पूर्णसिंह थापा र भिमादका प्रमुख मेखबहादुर थापाले पनि फेरि सोही पदमा दोहोरिने इच्छा देखाएका छन् । उनीहरु मध्ये अधिकांशले पार्टीमा दावी र आ-आफ्नो तर्फबाट लबिङ समेत गरिरहेका छन् ।
मुलुक संघीय संरचनामा गएपश्चात स्थानीय पालिकाको पहिलो नेतृत्व सम्हाल्दा काम भन्दा सिकाई बढि भएकाले चाहेजस्तो बिकास निर्माणका कामलाई गति दिन नसकेकाले अबको पाँच वर्ष पुनः प्रमुख भएर आए आफ्ना योजनालाई गति दिन मद्दत मिल्ने उनीहरुको भनाई छ ।
सत्तारुढ दलको २ गते बैठक
यस्तै, स्थानीय तह निर्वाचनका लागि तनहुँमा आइतबार सत्तारुढ दलको बैठक बसेको छ । निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय बमोजिम आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठक बसेको थियो ।
माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले पालिकाको सुझाव अनुसार अगाडी बढ्ने निर्णय गरेको छ । प्रत्येक पालिकामा पुगेर सुझाव लिने र कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको नेपाली कांंग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । उनका अनुसार अर्को बैठक वैशाख २ गते बस्ने सहमति भएको छ ।
प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि लडेका वास्तविक राजनितिज्ञा, क्रान्तिकारी व्यक्तिहरु भन्दा पनि राजनीतिमा कुनैपनि योगदान नभएका व्यक्तिहरु नेतृत्वमा आउनका लागि दौडधुप गरेको कांग्रेस तनहुँका सचिव खनालले बताए । उनले भने, ‘तर पार्टीले पार्टीको मापदण्ड अनुसार मुल्यांकन गरेर छनोट गर्छ । हल्ला गरेको भरमा, खर्च र शक्ति प्रदर्शनी गरेको भरमा कसैलाई पनि उम्मेद्वारको टिकट दिइदैन ।’
यस्तै, फागुन ३० गतेसम्म नगर तथा गाउँ कमिटीलाई आकांक्षीको नामावाली संकलन गर्न भनिएको हुँदा हालसम्म आकांक्षीको नामावाली जिल्लामा नआएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । उनले भने, ‘सम्भव भएसम्म सहमातिमा नामावाली ल्याउन आग्रह गरेका छौं ।’










